बाढीपीडितलाई गैरे प्रतिष्ठानको पाँच लाख ५५ हजार सहयोग

शुक्रबार, १२ भदौ, २०८३
डिजिटल संस्करण

रसुवा र नुवाकोटमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि गैरे प्रतिष्ठान प्रालि बुटवलले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ।

प्राकृतिक विपत्तिका कारण ठुलो जनधनको क्षति व्यहोरेका रसुवाका बाढीपीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले प्रतिष्ठानले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। गैरे प्रतिष्ठानका निर्देशक प्रवेशराज गैरेले प्राकृतिक विपत्तिमा परेका नागरिकको पीडामा साथ दिनु सबैको सामाजिक दायित्व भएको बताउँदै सहयोग गरिएको जानकारी दिए।

उनले प्राकृतिक विपत्तिले निम्त्याएको पीडाले आफूहरूलाई समेत मर्माहत बनाएको उल्लेख गर्दै कठिन परिस्थितिमा पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरे। ‘मानवताप्रतिको सेवामा सधैँ अग्रसर रहने हाम्रो प्रतिबद्धताअन्तर्गत राहत तथा पुनर्स्थापनाका लागि सहयोग गरेका हौँ,’ निर्देशक गैरेले भने।

गैरे प्रतिष्ठानले ‘रसुवाका बाढीपीडितहरूका लागि हामीसँगै छौँ’ भन्ने सन्देशसहित सहयोग गरेको जनाएको छ। प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई राहत र पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ।

पाँच लाख ५५ हजार ५५५ रुपैयाँको सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंक कारोबार विवरणसमेत प्रतिष्ठानले सार्वजनिक गरेको छ।

सुझावित समाचार