रसुवाको बाढीमा ७०६ जनाको उद्धार, ४० विदेशी नागरिक पनि सुरक्षित

शुक्रबार, १२ भदौ, २०८३
डिजिटल संस्करण

रसुवामा आएको बाढीका कारण प्रभावित क्षेत्रबाट नेपाली सेनाले ७०६ जनाको उद्धार गरेको छ। आज दिउँसो ३ बजेसम्म सेनाका हेलिकाेप्टरमार्फत टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका क्षेत्रबाट उनीहरूको उद्धार गरिएको हो।

उद्धार गरिएकामध्ये ४० जना विदेशी नागरिक रहेका छन्। जसमा २९ जना भारतीय, चारजना जर्मन, चारजना चिनियाँ, एकजना ओमानी र दुईजना कोरियाली नागरिक रहेका छन्।

बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिँदै नेपाली सेनाले करिब चार हजार पाँच सयभन्दा बढी फौज परिचालन गरेको जनाएको छ। सेनाका अनुसार प्रभावित क्षेत्रमा घाइतेहरूको खोज तथा उद्धार, आपतकालीन उपचार र राहत सामग्री वितरणको काम समन्वयात्मक रूपमा भइरहेको छ।

बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएपछि नेपाली सेनाले हेलिकाेप्टरसहितका स्रोतसाधन परिचालन गरी उद्धार कार्य जारी राखेको छ। प्रभावित क्षेत्रमा आवश्यकताअनुसार थप उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइने सेनाले जनाएको छ।

सुझावित समाचार