मुख्यमन्त्री थापा रसुवा पुगे, उद्धार–राहतलाई तीव्र बनाउन निर्देशन

शुक्रबार, १२ भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण, उद्धार, राहत तथा पुनर्स्थापनाको व्यवस्थापनलाई तीव्र बनाउन बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा रसुवा पुगेका छन्। धुन्चे जाने मुख्य सडक बाढी र पहिरोका कारण अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गरेर उनी प्रभावित क्षेत्रमा पुगेका हुन्।

मुख्यमन्त्री थापाले रसुवा र नुवाकोटका विभिन्न स्थानमा ठुलो क्षति पुगेको तथा स्थानीयसँगै आन्तरिक र बाह्य पर्यटकसमेत विभिन्न स्थानमा फसेकाले प्रदेश सरकारले उद्धार, राहत र पुनर्स्थापनालाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाएको बताए ।

रसुवा पुगेपछि उनले जिल्ला प्रशासन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गर्दै उद्धार अभियान, राहत वितरण तथा पुनर्स्थापनाको अवस्थाबारे जानकारी लिए। प्रभावित नागरिकलाई तत्काल राहत पुग्ने गरी सबै सरकारी संयन्त्र परिचालन गरिएको उनले बताए ।

मुख्यमन्त्री थापाले रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा फसेका नागरिक तथा पर्यटकलाई सुरक्षित स्थानमा ल्याउन यातायात व्यवस्थापनसँगै खाना, खानेपानी, अस्थायी आवास, जेनेरेटर, डिजेल, पेट्रोल तथा अन्य अत्यावश्यक सामग्री तत्काल उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

बाढीका कारण विद्युत् सेवा अवरुद्ध भएका क्षेत्रमा जेनेरेटर र इन्धनको व्यवस्थापन गरेर अत्यावश्यक सेवा सञ्चालनमा ल्याउन प्रदेश सरकारले आवश्यक तयारी गरिरहेको उनले जानकारी दिए । ‘विपतकाे यस कठिन घडीमा नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता हो,’ मुख्यमन्त्री थापाले भने, ‘उद्धार, उपचार, राहत र पुनर्स्थापनाका काममा कुनै कमी हुन दिइनेछैन ।’

वैकल्पिक सडक खुलाउने अभियान तीव्र
धुन्चे जोड्ने मुख्य सडक बाढी र पहिरोले अवरुद्ध भएपछि सडक सञ्चालनका लागि डोजर तथा अन्य भारी उपकरण परिचालन गरिएको छ। सडक खुलेपछि राहत सामग्री ढुवानी गर्न र फसेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहज हुने प्रदेश सरकारको विश्वास छ।

मुख्यमन्त्री थापाले ढिकुरे–बाहुनबेँसी–नर्डा–छाप–लच्याङ–नौकुण्ड–सरनथली–पाटीखर्क–चिलाउने गाउँ–घिचेत–पुङखोला–पर्च्याङ–भोर्ले–अम्बास–बेत्रावती हुँदै रसुवा जाने वैकल्पिक सडकखण्ड सञ्चालनमा ल्याउन आवश्यक काम तीव्र पारिएको जानकारी दिए ।

उनका अनुसार सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म वैकल्पिक मार्ग प्रयोग गरिनेछ । आवश्यक परे पैदलमार्गबाट समेत प्रभावित नागरिकलाई यातायात सञ्चालन भएको स्थानसम्म पुर्याउने व्यवस्था मिलाइनेछ । बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न स्थानमा आन्तरिक तथा विदेशी पर्यटक फसेको जानकारी प्राप्त भएको भन्दै मुख्यमन्त्री थापाले उनीहरूको उद्धारलाई विशेष प्राथमिकता दिइएको बताए । उनले सुरक्षाकर्मीको सहयोगमा पर्यटकलाई सुरक्षित रूपमा जिरोकिलोसम्म ल्याएर त्यहाँबाट उनीहरूको गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाइने जानकारी दिए ।

बाढी प्रभावित क्षेत्रमा घाइते तथा विस्थापित नागरिकका लागि औषधि, स्वास्थ्य सेवा, खाना र अस्थायी आवासको व्यवस्थापन प्रदेश सरकारले संघीय सरकार र स्थानीय तहसँगको समन्वयमा अघि बढाएको छ। मुख्यमन्त्री थापा भदौ १० गते साँझदेखि नुवाकोटमा रहेर प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिइरहेका थिए। नुवाकोटमा आवश्यक समन्वय र व्यवस्थापनपछि उनी शुक्रबार रसुवा पुगेका हुन्।

रसुवामा उनले सुरक्षा निकाय, प्रशासन र स्थानीय तहका प्रतिनिधिसँग थप छलफल गर्दै क्षतिको विस्तृत विवरण संकलन, जोखिमयुक्त क्षेत्रको पहिचान तथा तत्कालीन र दीर्घकालीन पुनर्स्थापनाको योजना तयार पार्न निर्देशन दिएका छन्।

मुख्यमन्त्रीको सचिवालयका अनुसार प्रभावित क्षेत्रमा राहत वितरणलाई व्यवस्थित बनाउने, पूर्वाधार पुनर्स्थापना तीव्र पार्ने तथा नागरिकलाई आधारभूत सेवा उपलब्ध गराउने विषयमा सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको छ।
 

सुझावित समाचार