प्रभावित क्षेत्रमा इन्धन आपूर्ति बढाउँदै निगम

नुवाकोटको विदुरमा निगमले आफ्नै ट्यांकरमार्फत ६ हजार लिटर पेट्रोल पठायो, उद्धार उडान सहज बनाउन त्रिशूली ब्यारेकमा फेरि पठाइयो नौ हजार लिटर हवाई इन्धन

शुक्रबार, १२ भदौ, २०८३
डिजिटल संस्करण

बाढी प्रभावित क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्ति बढाउन आयल निगमले सक्रियता देखाएको छ । रसुवा बाढीपीडितलाई हेलिकोप्टरमार्फत उद्धार र राहत सामग्री वितरणका लागि सहज हुने गरी निगमले त्रिशूलीस्थित नेपाल आर्मीको ब्यारेकमा बिहीबार साँझ नौ हजार लिटर हवाई इन्धन बोकेको ‘डिस्पेन्चर’ पठाएको हो । यसअघि बुधबार पठाएको एक ट्यांकर तेल (१२ हजार लिटर) एकै दिनमा सकिएपछि निगमले फेरि थप नौ हजार लिटर हवाई इन्धन पठाएको हो ।

त्यस्तै, नुवाकोटको विदुरस्थित भैरवी आयल स्टोरका लागि आयल निगमले बिहीबार दिउँसो आफ्नै ट्यांकरमा ६ हजार लिटर पेट्रोल पठाएको छ । उक्त पेट्रोल पुगेपछि स्थानीयलाई वितरण गरिएको निगमले जनाएको छ ।आयल निगमको हवाई इन्धन कार्यालय, सिनामंगल प्रमुख प्रदीप यादवले बिहीबार साँझ नौ हजार लिटर हवाई इन्धन बोकेको ‘डिस्पेन्चर’ त्रिशूली ब्यारेकका लागि पठाएको जानकारी दिए । ‘बुधबार पठाएको एक ट्यांकर तेल बिहीबार बिहानबाट उद्धारमा खटिने हेलिकोप्टरमा हाल्न थालिएको थियो, तर साँझसम्म सकिने अवस्था भयो,’ उनले भने, ‘त्यसैले, बिहीबार साँझ नै नौ हजार लिटर हवाई इन्धन त्रिशूली पठाइएको हो । यो टयांकर रातिसम्म पुग्छ ।’ 

सिनामंगलबाट डिस्पेन्चरमा तेल हालेर पठाउन आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहसमेत उपस्थित भएका थिए । उनले त्रिशूली ब्यारेक तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टरबाट हुने उद्धार र राहत सामग्री वितरणका लागि हवाई इन्धनको कुनै समस्या हुन नदिने बताए । ‘बाढी प्रभावितको उद्धार र राहत सामग्री वितरणका लागि हुने उडानमा हवाई इन्धनको कुनै समस्या हुन नदिने प्रतिबद्धता जनाउँछु,’ उनले भने । 

रिफ्युलरमार्फत लामो दूरी तय गरेर हवाई इन्धन ढुवानी गर्नु उपयुक्त नभएकाले यसपटक रामेछापको मन्थली विमानस्थलमा रहेको डिस्पेन्चर ल्याइएको निगमको सिनामंगल डिपोमा कार्यरत उपनिर्देशक रामहरि निरौलाले बताए । ‘डिस्पेन्चरबाट हवाई इन्धन ढुवानी तुलनात्मक रूपमा धेरै सुरक्षित मानिन्छ । त्यसैले रामेछापबाट डिस्पेन्चर ल्याएर त्यसमा तेल हालेर त्रिशूली ब्यारेक पठाइएको हो,’ निरौलाले भने ।

बिहीबार बिहान फोन गरेर मन्थलीमा रहेको डिस्पेन्चर काठमाडौं ल्याउन निर्देशन दिएको निरौलाले जानकारी दिए । उक्त डिस्पेन्चर सडकमार्ग हुँदै साँझ काठमाडौं आउनासाथ सिनामंगल डिपोमा तेल भरेर त्रिशूली ब्यारेक पठाइएको हो । ‘त्रिशूली ब्यारेकमा एउटा रिफ्युलर पहिले नै पुगेर बसेको छ । त्यसैले, राति ब्यारेकमा पुग्नासाथ डिस्पेन्चरमा रहेको तेल रिफ्युलरमा खन्याइनेछ,’ उनले भने ।

सुझावित समाचार