अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा आएको बाढीबाट आफू दुःखी रहेको र नेपाललाई कुनै पनि प्रकारको सहयोग गर्न तयार रहेको बताएका छन्। नेपाललाई तत्कालै सहायता सामग्री पठाउने पनि उनले घोषणा गरेका छन् ।
फक्सन्युजद्वारा सार्वजनिक ट्रम्पको भिडियामा उनले भनेका छन्, ‘हामीले नेपालमा फोन गरेका छौँ, हामीबिच धेरै राम्रो सम्बन्ध रहँदै आएको छ, नेपालमा एकदमै क्रूर किसिमको बाढी आएको छ, कसैले पनि यस्तो किसिमको बाढी देखेका थिएनन् । धेरै शक्तिशाली बाढी आएको छ, भवनहरू टुथपिकजसरी बगाएर लगेको छ, हामी सहायता सामग्री पठाउँदै छौँ, त्यहाँको नेतृत्वसँग कुरा गरेका छौँ, कुनै प्रकारका सहयोग चाहिन्छ हामीलाई जानकारी होस्, हामी तयार छौँ ।’ केही अमेरिकी नागरिक पनि सम्पर्कविहीन भएको र उनीहरूको अवस्था पत्ता लगाउने काम भइरहेको उनको भनाइ छ। आफ्नै कार्यालयमा पत्रकारहरूसँगको कुराकानीमा उनले सो कुरा बताएका हुन्।