टीकापुर नगरपालिका–१, समितिपुरकी लहानी चौधरी दुई दिनदेखि बेचैन छिन् । भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका आफ्ना श्रीमान मानबहादुरको अवस्थाबारे उनले दोस्रो दिनसम्म जानकारी पाएकी छैनन् । ३५ वर्षीय मानबहादुर रसुवाको एक जलविद्युत आयोजनामा मजदुरी गर्थे ।
अरु दिनजस्तै काममा जानुअघि बुधबार बिहान पनि मानबहादुरले श्रीमती लहानी र छोरीसँग म्यासेन्जरमा कुरा गरेका थिए । केहीबेरपछि लहानी पनि टीकापुरमै घर निर्माणको काममा मजदुरी गर्न गइन् । बिहान ११ बजेतिरमात्र उनले रसुवामा भीषण बाढी आएको खबर पाइन् । गाउँकै एक महिलाले उनलाई फोन गरेर त्यहाँ बाढी आएकोबारे भनेकी थिइन् ।
‘मोबाइलमा ब्यालेन्स थिएन । सँगै मजदुरी गर्ने एकजनासँग मोबाइलमा रिजार्च हालि मागेर श्रीमानलाई फोन गरेँ तर सम्पर्क हुन सकेन । फेसबुकहरुमा ठूलो बाढी आएको फोटो, भिडियो देखेँ’ लहानीले भनिन्, ‘श्रीमानको अवस्था के छ, कहाँ छन् अहिलेसम्म केही जानकारी पाएकी छैन ।’
उनी श्रीमान सकुशल रहेको सुखद खबर पाइएला भन्ने आशामा छिन् । सुरुङमा मजदुरी गर्न गाउँकै ८–१० जनासँग मानबहादुर गत असारमा रसुवा गएका थिए । गाउँबाट कामदार लगेका त्यहीँ हाइड्रोवापरमा काम गर्ने तुलाराम चौधरीसँग कुरा गर्दा बाढी आएका बेला आफ्ना श्रीमानसहित केही कामदार सुरुङभित्र रहेको जानकारी पाएको उनले बताइन् ।
‘श्रीमानको अवस्था थाहा नहुँदा चिन्ताले निकै सताएको छ’ उनले भनिन्, ‘सुरुङभित्र थुनिएको हो भने सरकारले छिटो उद्दार गरिदेओस् ।’ घर निर्माणको काममा मजदुरी गर्ने उनलाई श्रीमान काम गर्ने जलविद्युत आयोजनाको नाम थाहा छैन । उनीहरुका १४ र दुई वर्षीया छोरी छन् ।
घोडाघोडी नगरपालिका–३, का ५५ वर्षीय बिष्णु चौधरी छोरा विजय सकुशल रहेको खबर पाउने आशामा छन् । छोराको खबरको घण्टी आउला भन्ने आशाले बिहीबारदेखि उनले मोबाइल आफूबाट एकछिन पनि टाढा राखेका छैनन् । रसुवाकै मुलुङ खोला हाइड्रोमा काम गर्ने विजय बुधबारको बाढीपछि सम्पर्कविहीन भएपछि उनको परिवारमा रुवाबासी छ । २७ वर्षका उनी जलविद्युत आयोजनामा हेरालुको काम गर्थे ।
बिष्णुले बाढी आउनु केही समयअघि छोरासँग फोनमा कुरा गरेको बताए । उनका अनुसार फोनमा बिष्णुले घरमा आमाबुवा सन्चोविसन्चोको कुरा गरेका थिए । उनलाई त्यहँ काम गर्न थालेको सात÷आठ भइसकेको थियो । परिवारका अनुसार सुरुमा आयोजनामा काम गर्ने कामदारलाई खाना पकाउने काममा गएका उनी अहिले हेरालुको काम गर्थे ।
बिष्णुका अनुसार बाढी आएको खबर पाउनेवित्तीकै उनले छोरालाई फोन गरेका थिए । तर सम्पर्क हुन सकेन । छोरा सम्पर्कविहीन हुँदा चिन्ताले सताएको उनी बताउँछन् । ‘कहाँ कस्तो अवस्थामा छ, केही पनि जानकारी छैन’ उनले भने, ‘सरकारले बेपत्ताको खोजविन गरी अवस्था छिटो सार्वजनिक गरिदेओस् ।’
रसुवा, नुवाकोटलगायत जिल्लामा आएको बाढीपछि ती क्षेत्रमा रहेका कैलालीका मात्र ४० जना सम्पर्कविहीन भएका छन् । रोजगारीलगायत कामको शिलशिलामा प्रभावित क्षेत्रमा रहेका ४० जना बाढीपछि सम्पर्कविहीन भएको भनेर उनीहरुका परिवारले कैलालीस्थित प्रहरीका विभिन्न कार्यालयमा खबर गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले काम र घुमघामको शिलशिलामा ती क्षेत्रमा रहेकाहरुसँग सम्पर्क हुन नसकेको भनेर सम्बन्धित परिवारले प्रहरीलाई जानकारी गराएका बताए । उनीहरुको खोजीका लागि समन्वय भइरहेको तिमिल्सिनाले बताए ।
सम्पर्कविहीनमध्ये सबैभन्दा बढी जलविद्युत आयोजनाहरुमा कार्यरत मजदुर छन् । यहाँ घर भएका केही कर्मचारी र सुरक्षाकर्मी पनि सम्पर्कविहीन छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सम्पर्कविहीन भएका ४० जनामध्ये टीकापुर नगरपालिकाका मात्र २८ जना छन् ।
रसुवाको मुलुक हाइड्रो पावरमै सुपर भाइजर पदमा कार्यरत धनगढी शिवशंकर जोशी पनि बाढीपछि सम्पर्कविहीन छन् । उनको परिवारले अझै आशा मारेको छैन । ‘बाढीपछि त्यो ठाउँमा विद्युत छैन, फोन लाग्दैन, त्यही कारण भागेर कतै गएको भए पनि सम्पर्क गर्न नसकेको हो कि भनेर अलिकति आशा पनि लाग्छ’ उनका दाइ योगेन्द्रले भने, ‘भाग्न पाएको भए दुई दिनसम्म कहीँ न कहीँबाट सम्पर्क त गर्नुपर्ने भन्ने पनि लाग्छ ।’
सरकारले उद्दारको काम गरिरहेको भए पनि बेपत्ताको अवस्था छिटो बाहिर ल्याइदेओस् भन्ने चाहना रहेको उनले बताए । भाइको खोजीका लागि आफूहरु शुक्रबार रसुवा जान लागेको योगेन्दले बताए ।