पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफ्नो एक महिनाको पेन्सन रकम बाढीपीडितको उद्धार र राहतका लागि दिएकी छिन्। उनले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी राष्ट्रिय वाणिज्य बैंकको खातामा मासिक पेन्सनबापतको रकम ७७ हजार रुपैयाँ जम्मा गरेकी हुन्।
पूर्वप्रधानमन्त्री कार्कीले बिहीबार नै एक अपिल जारी गर्दै दुःखको घडीमा सिंगो राष्ट्र एक भएर उभिन आह्वान गरेकी छिन् ।
उनको अपिलमा भनिएको छ,‘यो सिंगो राष्ट्र एक भएर उभिनुपर्ने समय हो । त्यसैले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा म विनम्र आग्रह गर्दछु— आफ्नो सामथ्र्यअनुसार प्रभावित परिवार र समुदायको सहयोगमा जुटौं । कसैका लागि सानो देखिने सहयोग पनि विपद्मा परेका परिवारका लागि ठूलो भरोसा र आशाको आधार बन्न सक्छ । तसर्थ, आफ्नो गाँस काटेर भए पनि सहयोग गरौँ । सम्भव भएसम्म आउँदा चाडपर्वका केही खर्च कटाएर भए पनि आज संकटमा परेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीको जोवन जोगाउन र घरपरिवार सम्हाल्न योगदान गरौँ । यो हाम्रो जिम्मेवारी, आत्मीयता र मानवताको अभिव्यक्ति पनि हो । विपद्को समयमा हाम्रो सबैभन्दा ठूलो शक्ति हाम्रो एकता हो । आजको हाम्रो सहयोग र ऐक्यबद्धताले भोलिको आशा निर्माण गर्नेछ।’