रसुवा गएका नयाँ पत्रिकाकर्मी टेकराज थामी सम्पर्कविहीन

बिहिबार, ११ भदौ, २०८३
डिजिटल संस्करण

रसुवा गएका नयाँ पत्रिकाकर्मी टेकराज थामी सम्पर्कविहीन भएका छन् ।  बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका  उनको नेपाल र चीन दुवैतर्फ खोजी भइरहेको छ ।

मंगलबार रसुवातर्फ लागेका थामीको बेलुका परिवारसँग सम्पर्क भएको थियो । त्यसयता उनको कसैसँग सम्पर्क नभएको श्रीमती कालिका खड्काले बताइन् ।  उनले सबै निकायबाट खोजी र उद्धारका लागि पहल गरिदिन अपिल गरेकी छिन्।

खड्काले लेखेकी छिन्,‘मेरो श्रीमान टेकबहादुर थामी केरुङ्को एक कार्यक्रममा जाने क्रममा मंगलबार रसुवागढी पुग्नुभएको थियोे ।  हिजो बिहान ८:२१ बजेसम्म मोबाइल लोकेसन देखिनुहुन्छ । त्यसपछि फोन अफ छ । उहाँ अहिलेसम्म परिवारको सम्पर्कमा आउनुभएको छैन । पत्रकार अन्वेषण अधिकारीको म्यासेजरमा कल गरेकोजस्तो रातो संकेत मात्रै देखिएको हो । स्पष्ट आधार, सम्पर्क अहिलेसम्म केही प्राप्त भएको छैन । उहाँको अवस्थाबारे हामी चिन्तित छौ । सम्बन्धित सबै निकायबाट खोजी तथा उद्धारका लागि पहल होस्। उहाँबारे कुनै जानकारी भए परिवार वा सम्बन्धित निकायलाई जानकारी गराइदिनुहुन अनुरोध छ ।’

थामीले सोमबारदेखि चार दिनका लागि कार्यालयमा बिदा लिएका थिए । आफू कार्यक्रममा सहभागी हुन केरुङ जाने उनले परिवारलाई बताएका थिए । उनी चीनतर्फ गए–नगएको पुष्टि हुन सकेको छैन ।

चीनतर्फ पुगेको सूचनाका आधारमा खोजीका लागि चिनियाँ पक्षसँग पनि समन्वय भइरहेको छ । उनको विस्तृत विवरण स्थानीय चिनियाँ अधिकारीलाई पठाएर खोजीका लागि आग्रह गरिएको ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले बताए । पत्रकार थामीको खोजीलाई तीव्रता दिन  नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ लगायत निकायहरूलाई आग्रह गरेको छ । 

–यस समाचारमा पछिल्लो विववरणअनुसार थपघट र अपडेट गरिएको छ। 
 

सुझावित समाचार