प्रदेशमातहतका सबै निकायमा स्तनपानकक्ष स्थापना गर्ने सुदूरपश्चिम सरकारको निर्णय

बिहिबार, ११ भदौ, २०८३
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश सरकारले मातहतका सबै निकायमा स्तनपानकक्ष स्थापना गरेर सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बुधबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारमातहतका निकायहरूमा महिला, पुरुष, अपांगता भएका व्यक्ति र लैंगिक तथा यौनिक अल्पसंख्यकका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावलले जानकारी दिएका छन् । 

प्रदेश सरकारमातहतका सबै निकायमा सेनेटरी प्याड सहज र नियमित उपलब्ध गराउनुका साथै प्रयोग गरिएका प्याडको सुरक्षित व्यवस्थापनको प्रबन्ध मिलाउने निर्णय पनि सरकारले गरेको छ ।

सुदूरपश्चिमका सातवटा जिल्ला जोड्ने दुईवटा सडकलाई भीमदत्त राजमार्गको वैकिल्पक मार्गमा रूपमा निर्माण अगाडि बढाउने निर्णय सरकारले गरेको प्रवक्ता रावलले जानकारी दिए ।

कञ्चनपुरको दैजीबाट डडेल्धुराको जोगबुडा, चिरकिट्टे, घटाल, बागबजार, पोखरा, बेलापुर सडक तथा कञ्चनपुरको बेलौरी भन्सार कलुवापुर नाइल हुँदै डोटीको बुडर जोड्ने सडकलाई भीमदत्त राजमार्गको वैकल्पिक मार्गका रूपमा अघि बढाउने सरकारले निर्णय गरेको हो ।

भीमदत्त राजमार्ग सुदूरपश्चिमका सातवटा पहाडी जिल्ला जोड्ने एक मात्र राजमार्ग हो । प्रदेश सरकारले बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा भएको धनजनको क्षतिप्रति दुख व्यक्त गर्दै ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गरेको छ ।

उद्धार, राहत र पुनर्स्थापनामा सबै प्रकारको सहयोग गर्न तथा नेपाल सरकारले संचालन गरिरहेको उद्धार तथा राहत कार्यमा सुदूरपश्चिम सरकारको पूर्ण ऐक्यबद्धता रहेको मन्त्री रावलले बताए । उक्त बैठकले मन्त्री रावललाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।
 

सुझावित समाचार