नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विपत्तिको समयमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर एउटै सोच र संकल्पका साथ अघि बढ्ने परम्परालाई निरन्तरता दिनुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संसदमा रहेका तथा संसदबाहिरका प्रमुख राजनीतिक दललाई सहभागी गराएर बैठक बोलाइएको जानकारी दिए। बैठकमा विपत् व्यवस्थापन, खोज तथा उद्धार तथा राहतका विषयमा छलफल हुनुका साथै केही निर्णयसमेत गरिएको उनले बताए।
थापाका अनुसार बैठकमा सरकारले गरिरहेको खोज तथा उद्धारबारे प्रारम्भिक जानकारी दिइएको थियो। त्यस क्रममा विभिन्न स्रोतबाट प्राप्त सूचना तथा दलहरूको बुझाइ सरकारको काममा थप सहयोग पुगोस् भन्ने उद्देश्यले प्रस्तुत गरिएको उनले बताए।
उनले बाढीमा हराइरहेका नागरिकको खोजी, उद्धार र तत्काल राहत उपलब्ध गराउनु अहिलेको प्रमुख प्राथमिकता रहेको बताए। यसका लागि सुरक्षा निकाय, प्रशासनलगायत राज्यका सबै संयन्त्र परिचालन भइरहेको उनको भनाइ छ।
नियमित रूपमा राज्यसँग उपलब्ध साधन–स्रोतका अतिरिक्त आवश्यकताअनुसार अन्य उपलब्ध स्रोतसमेत परिचालन गर्न सक्ने व्यवस्था मिलाउनुपर्नेमा बैठकमा जोड दिइएको थापाले बताए।