बाढी प्रभावित क्षेत्रमा समन्वयका लागि डिआइजी खटाइयो, विभिन्न टोलीहरू परिचालन

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशीमा आएको बाढीका कारण रसुवाको तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ र चितवनलगायतका विभिन्न जिल्लामा प्रभावमा परेको अवस्थामा नेपाल प्रहरीले
तत्काल उद्धार तथा खोजी कार्यलाई विभिन्न टोली बनाएर परिचालन गरेको छ ।  

बाढी प्रभावित क्षेत्रमा आवश्यक उद्धार कार्य, खोजी, राहत वितरण, शव व्यवस्थापन, मुचुल्का लेखन तथा कानुनी सहायता एवं प्रभावकारी समन्वयको लागि प्रहरी नायब
महानिरीक्षक सुदर्शन कोइरालासहितको विभिन्न टोली परिचालन गरेको छ ।  रसुवा जिल्लालगायत विभिन्न स्थानमा भएको घटनाको समग्र गतिविधिलगायत
वस्तुस्थिति सम्बन्धमा जाहेर गर्न आपतकालीन समन्वय केन्द्र स्थापनार्थ नेपाल प्रहरी प्रधान कार्यालयमा बेस रहने गरी प्रहरी नायब महानिरीक्षक कोइरालासहितको टोली परिचालन
गरिएको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बताए । यसैगरी काठमाडौं उपत्यकास्थित विभिन्न अस्पतालहरूका समन्वय अधिकृतहरूसँग समन्वय गर्नुका साथै समग्र प्रहरी परिचालन गर्ने गरी शिक्षण अस्पताल महाराजगन्जमा कमान्ड पोस्टमा रहने गरी प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाको कमान्डमा टोली परिचालन गरिएको छ ।

विभिन्न स्थानमा भएको घटनास्थलमा उद्धार एवं राहत कार्यका लागि प्रहरी वरिष्ठ उपरीक्षक दीपशमशेर जबराको कमान्डमा केनाइन (तालिमप्राप्त
कुकुर)सहितको टोली परिचालन गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद पँगेनीको कमान्डमा चारजनाको टोली कानुनी सहायताको लागि  र  प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईको कमान्डमा पाँचजनाको टोली सम्पर्कविहीन भएका प्रहरी कर्मचारीहरूको खोजतलासका लागि सम्बन्धित प्रहरी कर्मचारी तथा निजको परिवारसँग आवश्यक समन्वय गर्न परिचालन गरिएको छ ।

यसैगरी, प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पालको संयोजकत्वमा ६ जनाको टोली शव व्यवस्थापनका लागि परिचालन गरिएको छ ।  प्रहरी उपरीक्षक निर्मल बुढाथोकीको संयोजकत्वमा १५ जनाको टोली घटनास्थलमा राहत वितरण सहायताका लागि खटिएको छ। प्रहरी उपरीक्षक राजकुमार सिलवालको कमान्डमा चारजनाको टोली मृत्यु भएका स्वदेशी
तथा विदेशी नागरिकहरूको शव विमानस्थलमा प्राप्त हुन आउने अवस्थामा शवको सुरक्षित व्यवस्थापन, पहिचान, सम्बन्धित निकाय तथा मृतकका आफन्तसँग आवश्यक समन्वय एवं अन्य आवश्यक कार्यका लागि हेल्प डेक्स स्थापना गरी कार्य सञ्चालन गर्न परिचालन गरिएको छ । प्रहरी उपरीक्षक रविन श्रेष्ठ र प्रहरी नायब उपरीक्षक कमल बेल्वासेलाई समन्वय अधिकृत तथा प्रहरी नायब उपरीक्षक अनिल ठाकुरलाई अन्य सुरक्षा निकायसँग समन्वय गर्नका लागि समन्वय अधिकृतको रूपमा खटाइएको छ ।

यसैगरी प्रहरी नायब उपरीक्षक हिरेन्द्रबहादुर रोकायाको कमान्डमा १२ जनाको टोलीलाई नुवाकोटतर्फ र प्रहरी निरीक्षक काशीराज थापाको कमान्डमा नाैजनाको टोलीलाई चितवनतर्फ घटनासम्बन्धी मुचुल्का तयार गर्न परिचालन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी अस्पतालबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक
डा. छन्दबहादुर बुढाथोकीको कमान्डमा २२ जना चिकित्सक टोली रसुवातर्फ पठाइएको प्रधान कार्यालयले जनाएको छ । विपत् व्यवस्थापन तालिम केन्द्र सामाखुसीबाट ३४ जना र
बागमती प्रदेश विपत् व्यवस्थापन गुल्म हेटौँडाबाट १५ जना दक्ष प्रहरी कर्मचारीहरू परिचालन  भएका छन् । साथै बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यका लागि चारवटा
ड्रोन परिचालन गरिएको डिआइजी काफ्ले बताउँछन् । 
 

सुझावित समाचार