बुधबार १० बजेसम्मका प्रमुख १० खबर

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण

सरकारले चलाएको राहत र उद्धार अभियानमा सहयोग गर्न प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढाउन र सहयोग गर्न हार्दिक अनुरोध गरेका छन्। बुधबार साँझ सामाजिक सञ्जालमार्फत उनले उद्धार र उपचारमा सरकार सक्रियताका साथ लागेको भन्दै सरकारको अभियानमा साथ दिन भनेका हुन्। 

रवि लामिछानेको आह्वानमा बिहीबार सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षति तथा उद्धार र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।

बैठक बिहीबार बिहान ९ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।

बालेनलाई मोदीको फोनः सबै प्रकारका मानवीय सहायता उपलब्ध गराउन तयार छौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन गरेर नेपालमा आएको बाढीका कारण ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गरेका छन्। उनले नेपाललाई सम्भव भएसम्मका सबै मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको पनि उल्लेख गरेका छन्। 

ट्रेड युनियनका कार्यालय तत्काल खाली नगराउन सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वाेच्च अदालतले निजामती प्रशासनमा रहेका ट्रेड युनियनले प्रयोग गर्दै आएका कार्यालय खाली गराउने र उनीहरूको भोगाधिकार अन्त्य गर्ने प्रक्रिया तत्काल रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। तत्कालीन निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी दाहालले दायर गरेको रिटमा सर्वाेच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले बुधबार यस्तो आदेश दिएको हो । 

भारत, चीन र विश्व बैंकले सरकारलाई सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ?’

बाढी प्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्। बाढीको समाचार बाहिर आएलगत्तै बुधबार बिहान १०.३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपतकालीन सहयोगस्वरूप रु. २५ अर्ब सहयोग गर्न सकिने जानकारी गराएका थिए। 

भग्नावशेष त्रिशूलीबजारको ड्रोन भ्यु

रसुवाको भोटेकोशी नदीमा आएको ठुलो बाढीका कारण नदीआसपासका क्षेत्रमा ठुलो मात्रामा क्षति पुगेको छ।

बाढीका कारण नदी किनारमा रहेका बस्ती तथा भौतिक संरचनाहरू बगाउनुका साथै विभिन्न स्थानमा क्षति पुगेको हाे ।रसुवा र नुवाकोटमा सबैभन्दा बढी क्षति पुगेको छ । घाइतेहरूलाई सेनाको हेलिकोप्टरले उद्धार गरिरहेको छ । 

८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सयभन्दा धेरै सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीमा ८५  जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन्। प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ४४ सेना, २८ प्रहरी र १३ जना सशस्त्र प्रहरी सम्पर्कविहीन छन्। 

त्यस्तै, तीन सय ८४ पर्यटक, लाङटाङ जलविद्युत् आयोजनाका ४० कर्मचारी तथा अध्यागमन र भन्सारका १० कर्मचारी सम्पर्कमा छैनन्। स्थानीयबाहेक नै सम्पर्कविहीनको संख्या पाँच सय नाघिसकेको छ। विद्युत् प्राधिकरणले एक सय ९६ जलविद्युत् क्षेत्रका कामदार बेपत्ता भएको जानकारी दिएको छ। स्थानीयबाहेक नै ६ सयजना भन्दा धेरै सम्पर्कविहीन भएको सूचना सुरक्षा निकायमा पुगिसकेको छ। अझ धेरैको विवरण प्राप्त हुन सकेको छैन। हालसम्म ९५ जनाको शव फेला परेको प्रहरीको विवरण छ। 

रसुवागढी अध्यागमन कार्यालयका प्रमुखसहित चार कर्मचारी सम्पर्कविहीन

भोटेकोशी नदीमा आएको बाढीले रसुवागढीस्थित अध्यागमन कार्यालयमा कार्यरत चार कर्मचारी पनि सम्पर्कविहीन भएका छन्। कार्यालय प्रमुख रहेका अध्यागमन अधिकृत यादव भण्डारीसहित नासु दुर्गाप्रसाद पोखरेल, खरिदार पार्वती मानन्धर र एक कार्यालय सहयोगी सम्पर्कविहीन बनेको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए। 

सीमा क्षेत्रमा हिम चट्टान पहिरोपछि भाेटेकाेशीमा भीषण बाढी

नेपाल–चीन सीमा क्षेत्र नजिकै भीषण हिम चट्टान पहिरोका कारण भाेटेकाेशीकाे सहायक ल्हेन्दे खोलामा गेग्र्यानसहितको बाढी आएको प्रारम्भिक अध्ययनले देखाएको छ।

स्याटेलाइट तस्बिर विश्लेषण गर्ने कम्पनी प्लानेट ल्याब्सका तस्बिरहरूको तुलनात्मक अध्ययनअनुसार रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा रहेको सीमा क्षेत्रबाट ठुलो पहिरो खसेको देखिएको हो। पहिरोपछि ल्हेन्दे खोलामा गेग्र्यानसहितको बाढी आएको र त्यसले टिमुरे क्षेत्र हुँदै त्रिशूली नदीमा उच्च बहाव उत्पन्न गराएको प्रारम्भिक विश्लेषण छ। 

प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित

प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठक समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक बिहीबार बिहान १ बजे बस्ने जानकारी दिएका थिए । तर, पछि संसद् सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ।

संसद् सचिवालयका अनुसार हालै आएको बाढी तथा पहिरोबाट उत्पन्न विपद्को परिस्थितिमा सरकारसँगै सभाका सदस्यहरू पनि राहत, उद्धार तथा व्यवस्थापनका कार्यमा संलग्न हुनुपर्ने भएकाले निर्धारित समयमा बैठक सञ्चालन गर्न नसकिने भएको हो।

सुझावित समाचार