भोटेकोसी नदीमा आएको बाढीमा परी रसुवामा निर्माणाधीन लाङटाङ खोला हाइड्रो पावरमा कार्यरत कर्मचारी र मजदुर गरी करिब ६० जना बेपत्ता भएका छन् ।
बुधबार बिहान आएको बाढीमा उनीहरू बेपत्ता भएको आयोजना निर्माण कम्पनी ‘मल्टी इनर्जी प्रालिका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईले जानकारी दिए। उनका अनुसार इन्जिनियर, ओभर सियर, गार्ड र भान्छे गरी मल्टी इनर्जीका २५ जना र निर्माण कम्पनीतर्फका ३५ मजदुर कार्यरत थिए । ती सबै सम्पर्कविहीन भएको भट्टराईले बताए । ‘हाम्रो टनेलमा काम गर्ने प्राविधिकसहित २५ जना र पेटी कन्ट्याक्टरका करिब ३५ जना कार्यरत थिए,’ भट्टराईले भने, ‘उनीहरू बिहानैदेखि सम्पर्कमा छैनन् ।’ उनले सुरुङको कंक्रिट ढलानको काम भइरहेकाले सबै कर्मचारी र मजदुर सुरुङभित्रै रहेका वेला बाढी आएको जानकारी दिए । उनका अनुसार आयोजना निर्माणको काम सकिएर आगामी साता बत्ती बाल्ने तयारी थियो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का सचिवसेमत रहेका भट्टराईले बाढी पानीको प्राकृतिक जल सतहभन्दा १ सय २५ मिटरमाथिसम्म आएकाले यो विपत्ति मात्र नभई महाप्रलय भएको टिप्पणी गरे । बाढीले उक्त आयोजनाको पावर हाउस पूर्ण रूपमा क्षतविक्षत भएको भट्टराईले जानकारी दिए । ‘तीन दिनअगाडि मात्र फिल्डमा गएर आएको थिएँ । अर्को साता बत्ती बाल्ने तयारी थियो,’ भट्टराईले भने, ‘आयोजना त फेरि बनाउँला या नबनाऔँला । तर, हाम्रा काबिल इन्जिनियर र मजदुरहरूको अज्ञात अवस्थाले मन बेचैन भएको छ ।’ विकास आयोजनाका संरचनाभन्दा मानिसको ज्यान ठुलो भएकाले पहिलो प्राथमिकता हराएकाको खोजीलाई दिनुपर्ने उनको भनाइ छ । ‘प्रोजेक्ट त फेरि बनाऔँला । तर, मान्छे कहाँबाट ल्याउने ?' उनले भने।