राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपतका समयमा हुने ‘भिआइपी मुभमेन्ट’ले सुरक्षा निकायमाथि थप चुनौती सिर्जना गर्ने भन्दै आफू र आफ्नो दलका सांसदका लागि विशेष सुरक्षा व्यवस्था नगर्न आग्रह गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले अत्यावश्यक अवस्थाबाहेक आफू प्रभावित क्षेत्रमा नजाने र सरकारलाई उद्धार तथा राहतमा प्रभावकारी रूपमा काम गर्न सहयोग गर्ने बताए। कुनै कारणवश प्रभावित क्षेत्रमा पुग्नुपरे पनि अतिरिक्त सुरक्षा वा सुविधा नलिने र प्रशासनको काममा कुनै अवरोध नगर्ने उनको भनाइ थियो।
‘विपतका वेला भिआइपी मुभमेन्टले सुरक्षाकर्मीका लागि चुनौती सिर्जना गर्दछ। म र मेरो दलका सांसदहरू फिल्डमा जाँदा सुरक्षाकर्मीले कुनै चिन्ता लिनुपर्नेछैन,’ उनले भने।
लामिछानेले विपतकाे समयमा सरकारका संयन्त्र नै प्रभावित क्षेत्रमा पुगेर नागरिकको उद्धार र राहतमा केन्द्रित हुनुपर्नेमा जोड दिए। उनले राजनीतिक दलहरूसँग रहेका दक्ष तथा तालिमप्राप्त जनशक्तिलाई स्थानीय प्रशासनसँग समन्वय गरी परिचालन गर्न पनि आग्रह गरे।
त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले नागरिकको ज्यान जोगाउनु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताए। प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्यमन्त्रीलगायत सरकारी संयन्त्रसँग आफूले निरन्तर संवाद र समन्वय गरिरहेको पनि उनले जानकारी दिए।
उनले विपतका समयमा महिला, गर्भवती, वृद्धवृद्धा, अपांगता भएका व्यक्ति तथा दलित र अन्य सीमान्तकृत समुदायलाई उद्धार तथा राहतमा प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराए।
रसुवा, धादिङ, चितवन, नवलपरासीसहित नदीतटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन उनले अपिल गरे। लामिछानेले विपतकाे सामना गर्न सबै राजनीतिक दललाई दलीय स्वार्थ र झन्डाभन्दा माथि उठेर एकजुट हुन आह्वान गरे। साथै, अपुष्ट समाचार सम्प्रेषण नगर्न तथा एआईबाट सिर्जित भ्रमपूर्ण फोटो र भिडियो नफैलाउन उनले आग्रह गरे।