रसुवाबाट सुरु भएको बाढीको प्रभाव नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा फैलिँदै गएपछि बागमती प्रदेश सरकारले आपतकालीन स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रदेशका अस्पतालहरूबाट चिकित्सकसहित आकस्मिक स्वास्थ्य टोली (इमर्जेन्सी मेडिकल टिम– इएमटी) परिचालन गरेको छ ।
स्वास्थ्यसचिव डा. सुमित्रा गौतमको संयोजनमा प्रदेशका विभिन्न अस्पतालबाट विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्स, स्वास्थ्यकर्मी तथा प्राविधिक कर्मचारीलाई प्रभावित क्षेत्रमा पठाउन थालिएको हो। प्रदेश सरकारले अन्य प्रादेशिक अस्पताललाई पनि तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
भक्तपुर अस्पतालबाट विशेषज्ञसहितको टोली परिचालन
भक्तपुर अस्पतालबाट बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न आकस्मिक स्वास्थ्य टोली प्रस्थान गरेको छ। टोलीमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. दिवाकर सुवेदी, जनरल सर्जन डा. विजय भट्ट, मेडिकल अधिकृत डा. कविकान्त चौधरी, आइटी इन्जिनियर दीपेश खड्का, स्टाफ नर्स संगीता प्याकुरेल र हेल्थ असिस्टेन्ट अलिसा पोखरेल रहेका छन्।
टोलीले प्रभावित क्षेत्रमा पुगेर घाइतेको उपचार, प्राथमिक स्वास्थ्य सेवा, आवश्यक रेफरल तथा स्वास्थ्य व्यवस्थापनमा सहयोग गर्ने जनाइएको छ।
टोखा चण्डेश्वरी अस्पतालको टोली त्रिशूलीतर्फ
टोखा चण्डेश्वरी अस्पतालबाट पनि आकस्मिक स्वास्थ्य टोली त्रिशूली क्षेत्रतर्फ पठाइएको छ। टोलीको नेतृत्व अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मण खड्काले गरेका छन्।
टोलीमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. सिवेश बर्मा, एनेस्थेसिया सहायक संगीता छत्कुली, औषधि तथा स्वास्थ्य सामग्री व्यवस्थापनका लागि स्टोरकिपर लीलाबहादुर श्रेष्ठ, हेल्थ असिस्टेन्ट छिद्धोकुमारी राना तथा सवारीचालक उत्तरकुमार गुरुङ रहेका छन्।
यस्तै, बज्रबाराही अस्पतालबाट पनि आकस्मिक स्वास्थ्य टोली परिचालन गरिएको छ। टोलीमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. कसिन नेपाली, मेडिकल अधिकृत डा. आयुषजंग थापा, एनेस्थेसिया सहायक सूर्य बम, हेल्थ असिस्टेन्ट महेन्द्र थापा तथा स्टाफ नर्स सन्डिला महत रहेका छन्। प्रदेश सरकारले आवश्यक परे थप चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गर्ने तयारीसमेत गरेको जनाएको छ।
स्वास्थ्यसचिव डा. सुमित्रा गौतमले प्रदेशका अन्य अस्पताललाई पनि उच्च सतर्कता अपनाउँदै तयारी अवस्थामा रहन निर्देशन दिएकी छिन्। आवश्यकताअनुसार थप आकस्मिक स्वास्थ्य टोली प्रभावित क्षेत्रमा पठाइने र औषधि, स्वास्थ्य सामग्री तथा जनशक्तिको अभाव हुन नदिने तयारी गरिएको उनले बताइन्।
प्रदेश स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा आकस्मिक उपचार, शल्यक्रिया, संक्रमण नियन्त्रण, औषधि वितरण, गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीको स्वास्थ्य सेवामा विशेष ध्यान दिन निर्देशन दिएको छ।