रसुवामा बाढीपछि विद्युत् संरचनामा क्षति, विद्युत् आपूर्ति अवरुद्ध

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण

रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण जनधनमा ठुलो क्षति पुग्नुका साथै विद्युत् उत्पादन, प्रसारण तथा वितरणसँग सम्बन्धित संरचनामा समेत उल्लेख्य क्षति भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण रसुवागढी, चिलिमे, त्रिशूली– ३ ए, त्रिशूली– ३ बी हब, २२० केभी सबस्टेसन, त्रिशूली तथा देवीघाट जलविद्युत् केन्द्रलगायत विभिन्न वितरण संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। संरचनामा क्षति पुगेपछि सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले विद्युत् आपूर्ति नियमित गर्न हरसम्भव प्रयास भइरहेको जनाएको छ। आपूर्ति पुनः नियमित नभएसम्म धैर्य गर्न तथा आधिकारिक सूचनाबाहेकका अपुष्ट समाचार र अफवाहमा विश्वास नगर्नसमेत सर्वसाधारणलाई आग्रह गरिएको छ।

बाढीको जोखिम अझै कायम रहन सक्ने भन्दै प्राधिकरणले नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र अन्य जोखिमयुक्त स्थानमा रहेका राष्ट्रसेवक, प्राधिकरणका कर्मचारी तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। थप जोखिम देखिएमा सुरक्षित स्थानतर्फ स्थानान्तरण हुनसमेत आग्रह गरिएको छ।

बाढीबाट बेपत्ता तथा प्रभावित सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सर्वसाधारणको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सम्बन्धित सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालित हुन प्राधिकरणले अपिल गरेको छ। प्राधिकरणले प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति यथाशीघ्र पुनर्स्थापना गर्न आवश्यक काम भइरहेको जनाएको छ।

सुझावित समाचार