बागमती प्रदेश सभाको इतिहासमा पहिलोपटक प्रतिपक्षी दलका सांसदहरूको अनुपस्थितिमा प्रदेश सभा बैठक सञ्चालन भएको छ। नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार बोलाइएको प्रदेश सभा बैठकमा प्रतिपक्षमा रहेका नेपाली कांग्रेस, हाम्रो नेपाली पार्टी (हानेपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का कुनै पनि सांसद उपस्थित भएनन्।
प्रदेश सभामा सत्तापक्षका रूपमा रहेका एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूको उपस्थितिमा बैठक सञ्चालन गरिएको हो। प्रतिपक्षी दलहरूले मुख्यमन्त्री नियुक्ति तथा सरकार गठनको प्रक्रियाप्रति असहमति जनाउँदै सदन बैठक बहिष्कार गर्ने निर्णय गरेपछि प्रदेश सभा बैठक प्रतिपक्षीविहीन बनेको हो।
मुख्यमन्त्री थापामगरले संविधानको व्यवस्थाबमोजिम प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने भएपछि प्रदेश सभा सचिवालयले बैठक आह्वान गरेको थियो। तर, बैठक सुरु हुनुअघि नै प्रतिपक्षी दलहरूले सदनमा सहभागी नहुने निर्णय गरेका थिए। प्रतिपक्षी दलहरूले मुख्यमन्त्रीको नियुक्ति प्रक्रिया विवादित रहेको दाबी गर्दै त्यसको न्यायिक निरूपण नभएसम्म सदनको प्रक्रियामा सहभागी नहुने अडान लिएका छन्।
विशेष गरी राप्रपाभित्रको विवाद अदालतसम्म पुगेपछि त्यसको टुंगो नलागेसम्म सरकारका कामकारबाहीमा सहभागी नहुने र सदनमा समेत उपस्थित नभएको विपक्षी दलहरूको भनाइ छ।