रौतहटमा १९ लाखभन्दा बढीको तरबुजाको बिउ र लसुन बरामद

मंगलबार, ९ भदौ, २०८३
डिजिटल संस्करण

रौतहटको ईशनाथ नगरपालिका–१, बन्जरहामा सशस्त्र प्रहरीले एक घरमा छापा मारेर करिब १९ लाख १२ हजार ४ सय रुपैयाँबराबरको तरबुजाको बिउ र लसुन बरामद गरेको छ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हेडक्वार्टर र मातहतका युनिटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद भट्टको कमान्डमा खटिएको ६५ जनाको टोलीले स्थानीय राजनारायण साहको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा घरमा लुकाइछिपाइ राखिएको ८६ बोरा (तीन हजार ९६ केजी) तरबुजाको बिउ र २२४ बोरा (चार हजार १४४ केजी) लसुन बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीले बरामद सामानलाई आवश्यक कारबाहीका लागि सोमबार बिहान २ः५५ बजे गौर भन्सार कार्यालय, रौतहटमा बुझाएको जनाएको छ।

यसैबिच, मधेश प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) विष्णु भट्टको निर्देशनमा सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा तस्करी नियन्त्रणका लागि निगरानी थप कडा पारिएको छ। घटनासँग सम्बन्धित विषयमा बिओपी औरैयाका सशस्त्र प्रहरी निरीक्षकलाई जिम्मेवारीबाट तानेर आवश्यक सोधपुछ तथा अनुसन्धान भइरहेको डिआइजी भट्टले बताए।

डिआइजी भट्टका अनुसार नं. ११ गण हेडक्वार्टर रौतहटअन्तर्गत रहेका पाँचवटै बिओपी तथा मातहतका युनिटका इन्चार्जहरूलाई सीमा क्षेत्रमा तस्करी तथा अवैध ओसारपसार हुन नदिन कडा निर्देशन दिइएको छ।

सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणलाई प्राथमिकतामा राख्दै सशस्त्र प्रहरीले पछिल्लो समय विशेष निगरानी र गस्ती बढाएको जनाएको छ। सीमा सुरक्षासँगै राजस्व चुहावट नियन्त्रणका लागि मातहतका सबै युनिटलाई थप जिम्मेवार र सक्रिय बनाइएको डिआइजी भट्टले बताए।

सुझावित समाचार