प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरमा ११ सांसदले प्रश्न सोध्ने

मंगलबार, ९ भदौ, २०८३
डिजिटल संस्करण

बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदै छ। संसद् सचिवालयका अनुसार विभिन्न दलका ११ सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्न नाम दर्ता गराएका छन्।

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका समीक्षा बाँस्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंहले प्रश्न गर्नेछन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरुङ, एमालेबाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न सोध्नेछन्।

यस्तै, नेकपाका वर्षमान पुन र प्रमेशकुमार हमाल, श्रम संस्कृति पार्टीका हर्कराज राई तथा राप्रपाकी खुश्बु ओलीले पनि प्रश्न गर्ने भएका छन्।

प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा छुट्याइन्छ। अधिकतम १५ सांसदले प्रश्न गर्न पाउने व्यवस्था भए पनि यसपटक ११ जनाले मात्रै प्रश्न दर्ता गरेका हुन्।

दर्ता भएका प्रश्न स्वीकार गर्ने वा नगर्ने निर्णय सभामुखले गर्नेछन्। कार्यक्रम प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था पनि नियमावलीमा छ।

सुझावित समाचार