सिराहाको गोलबजार नगरपालिका– ३, गागनखोला पुलनजिक वृद्धा महिलाको बेवारिसे शव फेलापरेको छ ।जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार मंगलबार मध्याह्न करिब १२ बजेतिर गागनखोला पुलदेखि दक्षिणतर्फ पश्चिमी किनारमा अन्दाजी ७० वर्षीया वृद्धाको शव घोप्टो अवस्थामा फेलापरेको हो ।
मृतक वृद्धा नरहा गाउँपालिका– ३, खोरिया गाउँका मो. अबु खानकी श्रीमती रहेको प्रहरीले जनाएको छ । घरमा बुहारीसँग सामान्य विवाद भएर सोमबार दिउँसो घरबाट निस्किएकी भनिएकी वृद्धा साँझसम्म घर नफर्किएपछि खोजतलास गर्ने क्रममा स्थानीयले पुलनजिक महिलाको शव फेलापरेको भन्ने जानकारी दिएलगत्तै गोलबजारस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी खटाइएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षका रमेशबहादुर पालले जानकारी दिए ।
उनका अनुसार घटनास्थलमा खटाइएको प्रहरी सहायक निरीक्षक पुस्करप्रसाद घिमिरेको टोलीले शव भेटिएको यकिन गरेलगत्तै पुनः थप अनुसन्धानका लागि प्रहरी निरीक्षक दीपक खरेलको कमान्डमा प्रहरी टोली परिचालन गरिएको छ ।
खोला किनारमा वृद्धा मृत अवस्थामा भेटिएको जानकारी पाएपछि गाउँले र परिवारका सदस्यहरू घटनास्थलमा आएको शव पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गोलबजारस्थित इलाका प्रहरीबाट करिब चार किलोमिटर दक्षिण–पूर्व रहेको घटनास्थलमा रहेको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइने तयारी गरिएको छ ।
घरायसी विवादपछि घरबाट हिँडेकी भनिएकी वृद्धा गाउँनजिकै पर्ने चोहर्वा, त्यहाँदेखि पूर्व दिशामा रहेको गोलबजार हुँदै गागनखोला किनारसम्म कसरी पुगिन् र के कारणले मृत्यु भयो भन्ने विषयमा अनुसन्धान थालिएको जनाइएको छ ।