सिराहाको धनगढीमाई नगरपालिका– ७ फुलकहा गाउँकी वृद्धा पवित्री महतोले ससुराले बकसपत्र गरिदिएको जिउनी जग्गा विवादमा आफ्नै देवरहरूले जबर्जस्ती कपाली तमसुक बनाएर दुःख दिइरहेको आरोप लगाएकी छिन् ।
महतोा श्रीमान करिब ६९ वर्षीय महेन्द्र महतोले बाबु फुलचन महतोलाई खाने, बस्ने, औषधि–उपचार र स्याहार गरेपछि खुसी भएर बकसपत्र गरिदिएको करिब १३ कट्ठा जग्गा पाउनुपर्ने भन्दै विवाद झिकेका सहोदर भाइहरूले जबर्जस्ती ३० लाख रुपैयाँको कपाली बनाएर लेनदेनसम्बन्धी मुद्दामा फसाएको आरोप लगाए । ‘मेरै घरमा बस्नुभएका बाबुको मृत्युपछि दाहसंस्कार गरी किरियामा बसेका वेला वृद्धा श्रीमतीलाई झुक्याई १५ असार ०७५ को मितिमा ३० लाख रुपैयाँको कपाली बनाएछन्,’ उनले भने, ‘त्यही मुद्दामा जिल्ला, उच्च हुँदै सर्वोच्च अदालतसम्म धाउँदै छु ।’
‘बकसपत्रको जग्गा नपाएपछि कपाली’
उनका अनुसार बाबु जीवित हुँदै ०७६ सालमा आफूसहित भाइहरू जोगिन्द्र, प्रमेश्वर र विन्देश्वरको पैत्रिक सम्पत्ति अंशबन्डा भएको थियो । ‘आमाको निधनपछि बाबुको देखभाल, स्याहार र औषधि–उपचार भाइहरूले गरेनन्,’ उनले भने, ‘त्यसपछि बाबुलाई खुवाउने, स्याहार्ने र औषधि–उपचार पनि मैले नै गरेपछि खुसी भएर गाउँको तीन कित्ताको करिब १३ कट्ठा जग्गा बकस गरिदिनुभएको थियो ।’
साबिक फूलकहाकट्टी २ क कि.नं. १७७३ को ४.३५ धुर, १७६७ को १० कट्टा २.१ धुर र १७४४ को दुई कट्ठा एक धुर जग्गा बकसबापत पाएको उनले बताए। ‘त्यही जग्गाबाट आफूहरूले पनि हिस्सा पाउनुपर्ने भाइहरूको माग थियो,’ उनले भने, ‘बाबुले दिएकोमध्ये तीन भाइलाई दुई–दुई कट्ठा जग्गा दिने विषयमा मौखिक सहमति पनि भएको थियो, तर म किरियामा बसेका वेला भाउजूलाई झुक्याएर ३० लाखको कपाली तमसुकमा सहीछाप गर्न लगाएछन् ।’
१८ फागुन ०७७ मा निधन भएका बाबुको दाहसंस्कारपछि जेठो छोराको हैसियतले आफू नै किरियामा बसेका वेला तीन दिनपछि २१ फागुनको राति भाइहरू आएर विन्देश्वरले दुई वर्षअघिको मितिमा लिँदै नलिएको ३० लाख रुपैयाँको कपाली तमसुक बनाएर गएको उनले सुनाए । ‘बाबुको तेह्रौँ तिथिसमेत नसकिँदै जबर्जस्ती दबाब दिएर कपाली तमसुक बनाएको विषयमा भोलिपल्ट कसहा प्रहरी चौकीमा निवेदन दिएपछि प्रहरीले बोलाएको पनि हो, भाइले आउँछु भनेर समय दियो, तर २३ फागुनमा सिराहा जिल्ला अदालतमा लेनदेन मुद्दा हालेछ,’ उनले भने ।
त्यसको पाँच दिनपछि २८ फागुनमा पवित्रीले सिराहा जिल्ला अदालतमा आपराधिक बल प्रयोग जोरजुलुमसम्बन्धी हालेको मुद्दाको १६ असार ०७९ मा न्यायाधीश प्रकाश खरेलको इजलासले वादीको दाबी नपुग्ने अन्तिम फैसला सुनाएको थियो । उनका छिमेकी रामदुलार महतो बाबुको किरियामा बसेका वेला भाइहरूले जबर्जस्ती ३० लाख रुपैयाँको कपाली तमसुक बनाएको आफूले सुनेको बताए । ‘किरियामा बसेका ठुलो बालाई रातको समयमा कुटपिट गर्ने उद्देश्यले लाठी बोकेर आएको देखेपछि मैले नै रोकेँ,’ उनले भने, ‘म घर गएपछि जबर्जस्ती तमसुक बनाएको भन्ने भोलिपल्ट मात्र थाहा पाएँ ।’
उच्च हुँदै सर्वोच्चसम्म धाउँदै
जिल्ला अदालतले अन्तिम फैसलामा प्रतिवादीहरूले जबर्जस्ती कपाली तमसुकमा सहीछाप गराएको भन्ने फिराद दाबीजस्तो गम्भीर विषयमा शान्ति सुरक्षासँग सम्बन्धित निकायमा उजुरी नदिएको विषयलाई मुख्य आधार बनाएको छ । त्यससँगै प्रतिवादीहरुले जबर्जस्ती नगरेको बरु लिएको ऋण तिर्नु नपरोस् भन्ने मनसाय रहेको भन्ने जिकिरको आधारमा फैसला सुनाएपछि वृद्धदम्पतीले १६ कात्तिक ०७९ मा उच्च अदालत जनकपुर राजविराज इजलासमा पुनरावेदन गरेका थिए ।
उक्त पुनरावेदनसम्बन्धी न्यायाधीशद्वय वामदेव ज्ञवाली र कृष्णप्रसाद सुवेदीको संयुक्त इजलासले ११ फागुन ०८१ मा वादी दाबी पुग्न नसक्ने ठहर्याई सुरु जिल्ला अदालतले गरेको फैसला मिलेको देखिँदा सदर ठहर हुने र पुनरावेदक वादीको जिकिर नपुग्ने फैसला सुनाएको थियो । पुनरावेदनको फैसलापछि वृद्ध महेन्द्र श्रीमतीको वारेसमा मुद्दा दोहोर्याइपाऊँ भन्ने माग दाबीसहित ०८२ भदौमा सर्वोच्च अदालत पुगेका छन् ।
