काठमाडौं महानगरपालिकाले सानो एकाइमा भए पनि टेकुमा फोहोर व्यवस्थापन गर्दै आइरहेको छ । यहाँ महानगरले मेसिनबाट फोहोरलाई वर्गीकरण गर्ने र पेलेर थोरै बनाउने काम गर्छ ।
हाल महानगरका १० वटा वडाको फोहोर यहाँ लैजाने गरिन्छ । यो फोहोर महानगरले नै उठाउँछ । दैनिक पाँच ट्रक फोहोर यहाँ मेसिनको सहायताले पेलेर कम गराउँछ । त्यस्तै, यहाँ पुगेको फोहोर वर्गीकरण गरेर पुनः प्रयोग गर्न मिल्ने वस्तु छुट्याएर वार्षिक रूपमा महानगरले ७१ लाख आम्दानी गर्ने गरेको वातावरण विभाग प्रमुख सरिता राईको भनाइ छ ।
उनका अनुसार टेकुमा बायोग्यास प्लान्ट पनि छ । यो पनि सञ्चालन गर्ने तयारी गरिएको छ । जसबाट ऊर्जा उत्पादन गर्नुका साथै मल बनाउन सकिने विभाग प्रमुख राईको भनाइ छ । उनले टेकुमा जस्तै अन्य स्थानमा पनि बायोग्यास प्लान्ट र फोहोर वर्गीकरण गर्ने प्रविधि जडान गरेर फोहोर घटाइने बताइन् ।