मुक्तिनाथ विकास बैंक र नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिबिच टाटाको पिकअप तथा साना व्यावसायिक सवारीसाधन खरिद गर्नका लागि कर्जा लगानी गर्ने समझदारी भएको छ ।
समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको हो । समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सिप्रदीको तर्फबाट भाइस प्रेसिडेन्ट सौरभराज थपलियाले हस्ताक्षर गरे ।
सम्झौताअनुसार सिप्रदी ट्रेडिङको अधिकृत डिलरमार्फत टाटा ब्रान्डको पिकअप तथा व्यावसायिक साना सवारीसाधन खरिद गर्ने ग्राहकलाई मुक्तिनाथ विकास बैंकले आफ्नो १७६ वटै शाखा कार्यालयबाट आकर्षक सहुलियत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउनेछ ।
सम्झौताअनुसार इभी गाडीतर्फ ६० प्रतिशत तथा आइसिई सवारीसाधनका लागि ७० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध हुनेछ ।
यस सहकार्यबाट व्यवसाय, कृषि तथा साना उद्यममा प्रयोगमा हुने व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सहज वित्तीय पहुँच प्राप्त हुने तथा व्यवसाय विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताएका छन् ।
साथै, बैंकले हाल अटो कर्जा, कृषि र एसएमई कर्जामा समेत न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्ने विशेष अफर ल्याएको छ ।