मेयर्स फोरमले फोहोर व्यवस्थापनका विषयमा प्रधानमन्त्री बालेनसँग छलफल गर्ने

मंगलबार, ९ भदौ, २०८३
डिजिटल संस्करण

काठमाडौं उपत्यका मेयर्स फोरमले उपत्यकाको फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग तत्काल छलफल गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग भेटघाटको समय मागेर फोहोर व्यवस्थापन, सडकबत्तीको शुल्क, स्थानीय तहले प्रयोग गर्दै आएका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनका विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो।

फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उपत्यकाको फोहोर व्यवस्थापनका लागि तत्कालीन सरकार र नेपवेस्टबिच भएको सम्झौता कार्यान्वयन गर्ने वा सम्झौता खारेज गरी वैकल्पिक व्यवस्थाको बाटो खोल्न प्रधानमन्त्रीसँग आग्रह गरिने बताए।

उनका अनुसार उपत्यकाको फोहोर व्यवस्थापन तीनै तहका सरकारको साझा सरोकारको विषय भएकाले यसको दीर्घकालीन समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध छ।

बैठकले गत भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आशिका तामाङबाट भएको भनिएको दुर्व्यवहारप्रति समेत आपत्ति जनाएको छ। उक्त विषय पनि प्रधानमन्त्रीसँगको भेटमा उठाउने निर्णय भएको महर्जनले जानकारी दिए।

यसैबिच, उपत्यकाको फोहोर विसर्जन हुँदै आएको बन्चरेडाँडाका स्थानीयले आफ्ना माग १५ दिनभित्र सम्बोधन नभए फोहोर विसर्जनमा रोक लगाउने चेतावनी दिएका छन्। स्थानीयको चेतावनीपछि फोरमले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानबारे प्रधानमन्त्रीसँग छलफल गर्न लागेको हो।

फोरमले यसअघि पनि नेपवेस्टसँग भएको सम्झौता कार्यान्वयन गर्ने वा सम्झौता खारेज गरी फोहोर व्यवस्थापनका लागि वैकल्पिक मार्ग खोल्ने विषयमा पटक–पटक छलफल गर्दै आएको जनाएको छ।

सुझावित समाचार