उद्घाटन गरेको करिब एक महिनामा नागढुंगा सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिएको छ । सडक विभागले सोमबारदेखि नौजनासम्म यात्रु क्षमता भएका कार, जिप, भ्यानलगायत निजी सवारीलाई सुरुङमार्ग खुला गरेको हो ।
११ साउनमा उद्घाटन गरिएको ‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्ग आकस्मिक सेवाका सवारीसाधनलाई मात्रै खुला गरिएको थियो । अब इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी प्लेटका सवारीसहित नौ सिटसम्मका निजी सवारीसाधनलाई पनि खुला गरिएको सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले बताए । यद्यपि, सार्वजनिक यातायात तथा ट्रकका लागि भने अझै खुला गरिएको छैन ।
नयाँ सुरुङमार्गमा एकैपटक धेरै मात्रामा सवारीसाधन प्रवेश गर्न दिँदा प्राविधिक तथा इन्जिनियरिङ रूपमा समस्या आउने जोखिम हुन्छ । तसर्थ, सवारीसाधनको प्रकृतिअनुसार क्रमशः र चरणबद्ध रूपमा नागढुंगा सुरुङमार्ग खुला गर्न लागिएको हो । अहिले पनि सुरुङमार्ग एकतर्फी मात्रै खुला गरिएको छ । हाललाई धादिङतर्फबाट मात्रै बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सवारीसाधन सुरुङमार्गमा प्रवेश गर्न दिइनेछ ।
अब अवस्था हेरेर हरेक एक–दुई सुरुङमार्गलाई दुईतर्फी रूपमा खुला गरिने प्रवक्ता न्यौपानेले बताए । यसैगरी, सञ्चालन अवधि पनि क्रमशः बढाउने योजना रहेको छ । सुरुङमार्गलाई चिनियाँ संलग्न जोइन्ट भेन्चर कम्पनी युक्सिन–एआरटी गरिरहेको छ । उक्त कम्पनीले परियोजनालाई पाँच वर्षसम्म सञ्चालन गर्ने गरी एक अर्ब १० करोड ४० लाख ३७ हजार रुपैयाँमा ठेक्का पाएको थियो ।
कुन गाडीलाई कति शुल्क ?
सुरुङमार्ग हुँदै काठमाडौं भित्रिँदा कार तथा भ्यानहरूलाई ६५ रुपैयाँ, मिनीबस तथा ट्रकलाई एक सय १५ रुपैयाँ, ठुला बस तथा ट्रकलाई दुई सय ६० रुपैयाँ र भारी उपकरणलाई ६ सय रुपैयाँ शुल्क तोकिएको छ । यस्तै, सुरुङमार्ग हुँदै काठमाडौंबाट बाहिरिँदा कार तथा भ्यानलाई ६० रुपैयाँ, मिनीबस तथा ट्रकलाई ८० रुपैयाँ, ठुला बस तथा ट्रकलाई दुई सय रुपैयाँ र ठुला उपकरणलाई दुई सय ५० रुपैयाँ शुल्क तोकिएको छ । सडकको बोर्डमा जम्मा हुने गरी सेवाप्रदायक कम्पनीले नै टोल ट्याक्स उठाउनुपर्नेछ । मोटरसाइकल, तीनपांग्रे सवारीसाधन, इन्धन बोक्ने ट्रकलाई भने सुरुङमार्गमा निषेध गरिएको छ ।
सुरुङमार्ग प्रवेश शुल्क टोल गेटमा एन–ट्याग र नगद दुवैबाट भुक्तानी गर्न सकिनेछ । एन–ट्याग कुमारी, नबिल, ग्लोबल आइएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र सानिमा बैंकमा पाइनेछ । सुरुङमार्गमा अक्सिजन प्रवाह गर्न एयर भेन्टिलेसन जडान गरिएको छ । यसैगरी, टेलिफोनसमेत जडान गरिएको छ ।
सुरुङमार्गलाई उज्यालो बनाउन डेडिकेटेड फिडरमार्फत दुई मेगावाट विद्युत् निरन्तर आपूर्ति गरिएको छ । कुनै कारणवश विद्युत् अवरुद्ध भएमा आन्तरिक डिजेल प्लान्टबाट १५ देखि ३० सेकेन्डमा विद्युत् आपूर्ति गरिनेछ । सुरुङमार्गभित्र अग्नि नियन्त्रणको समेत व्यवस्था गरिएको छ । सुरुङमार्गभित्र गतिको सीमा तोकिएको छैन । तर, गाडी ओभरटेक भने गर्न पाइनेछैन । साथै, विपरीत लेनमा पनि जान नपाइने व्यवस्था गरिएको छ ।