उदयपुरको बेलका नगरपालिका– ५, जहडामा अटो र बस एक–आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा घाइते भएका थप एकको मृत्यु भएको हो।
सोमबार बिहान मदन भण्डारी लोकमार्गको सुपाडे–लालबजार खण्डमा को.१ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको सफल आदर्श इंग्लिस बोर्डिङ स्कुलको को.१ख ३५१६ नम्बरको बस एक–आपसमा ठोक्किएका थिए।
दुर्घटनामा परेर बेलका नगरपालिका– ५, मैनीकी ३४ वर्षीया मन्दिरा मगर, सुनसरीको बराह क्षेत्र नगरपालिका– ७ का १८ का दीपा भन्ने डिया राई र अर्का घाइते अटोचालक बेलका– ५ मैनीका २८ वर्षीय इन्द्र थापामगर घाइते भएका थिए।
तर, उपचारकै क्रममा दिउँसो डिया राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी गणेशबहादुर बमले जानकारी दिए। उनका अनुसार दुर्घटनामा बेलका– ५, मैनीका १८ वर्षीय रोशन मगर र विराटनगर महानगरपालिका– १२, मोरङका १९ वर्षीय अजित गुरुङ घाइते भएका छन्। रोशनको अवस्था गम्भीर र गुरुङको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न अटो प्रहरी चौकी लालबजारको नियन्त्रणमा छ। बस र त्यसका चालक बेलका नगरपालिका– ५ घुम्नेका करिब ३६ वर्षीय विक्रम थापा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको नियन्त्रणमा छन्।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरी स्थानीय अस्पताल पुर्याएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनीहरूलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।