बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा बैठक दलहरूबिच सहमति जुट्न नसकेपछि सोमबार दिउँसो १ बजेबाट साँझ ५ बजेका लागि सारिएको छ।
प्रदेश सभा सचिवालयले विशेष कारणवश तोकिएको समयमा बैठक सञ्चालन हुन नसक्ने जनाउँदै बैठकको समय परिवर्तन गरिएको सूचना जारी गरेको हो। प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक सोमबार साँझ ५ बजे बस्ने गरी समय निर्धारण गरेका छन्।
मुख्यमन्त्री किरण थापामगरले आजै प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। तर, विश्वासको मतको विषयसँगै प्रदेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर सत्तापक्ष र विपक्षी दलबिच सहमति जुट्न नसक्दा बैठक निर्धारित समयमा बस्न सकेन।
प्रदेश सरकारलाई समर्थनको विषय, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र देखिएको विवाद, राप्रपा संसदीय दलका तत्कालीन नेता उद्धव थापामाथिको कारबाही तथा उनको सांसद पदको वैधानिकताको विषयलाई लिएर दलहरूबिच मतभेद चर्किएको छ। यही विषयमा बिहानदेखि नै विभिन्न राजनीतिक दलका नेताहरूबिच निरन्तर छलफल चलिरहेको छ।
यसअघि राप्रपाले उद्धव थापालाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएको थियो। साथै, उक्त विषयको टुंगो नलागेसम्म प्रदेश सभा बैठक सहज रूपमा सञ्चालन हुन नदिने चेतावनी पनि दिएको छ। अर्कोतर्फ मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिनुपर्ने तयारी गरिरहेका छन्।
प्रदेश सभा सचिव रामकुमार पौडेलद्वारा जारी सूचनामा भने बैठक सारिनुको कारण ‘विशेष कारण’ मात्र उल्लेख गरिएको छ। सचिवालयले विस्तृत कारण खुलाएको छैन। अब साँझ ५ बजे बस्ने बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची यथावत् रहेको छ।