सत्तासाझेदार दल नेकपा र राप्रपाभित्र किचलो बढेपछि बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगर दबाबमा परेका छन् । चार दिनअघि मात्र मुख्यमन्त्री बनेका थापा मगरले सोमबार विश्वासको मत लिने तयारी छ । तर, सत्तासाझेदार नेकपाभित्र मन्त्री चयन र शक्ति बाँडफाँटलाई लिएर विवाद छ भने राप्रपाभित्रको आन्तरिक किचलोसमेत सुल्झिन सकेको छैन ।
सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिने कार्यसूची छ । १०४ सदस्यीय प्रदेश सभामा बहुमतका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री थापाले एमाले, नेकपा र राप्रपाका गरी ६३ सांसदको समर्थन रहेको दाबी गर्दै सरकार गठन गरेका थिए । विश्वासको मत लिनुअघि आइतबार हेटौँडामा बोलाइएको नेकपा संसदीय दलको बैठक आधा सांसदले बहिष्कार गरेका छन् । २६ सदस्यीय संसदीय दलमध्ये १३ जना मात्रै सहभागी भएका थिए ।
संसदीय दलभित्र कुनै संस्थागत छलफल नगरी एकलौटी रूपमा निर्णय गरिएको भन्दै असन्तुष्ट पक्षले विरोध जनाएको छ । असन्तुष्ट एक सांसदका अनुसार राजनीतिक र व्यावहारिक दुवै पक्षमा असहमति छ । ‘सरकार गठनका क्रममा राप्रपाभित्र विभाजन आउने गरी प्रक्रिया अघि बढाइयो । सत्ता साझेदार दलबिच पर्याप्त छलफल नै नगरी संवैधानिक प्रक्रियामाथि प्रश्न उठ्ने गरी निर्णय गरियो,’ ती सांसदले भने । उनले सरकारको न्यूनतम साझा कार्यक्रमसमेत सार्वजनिक नगरी अनुभवी सांसदलाई बेवास्ता गरिएको बताए ।
बैठकमा मुख्यगरी तत्कालीन नेकपा (एकीकृत समाजवादी) पृष्ठभूमिका नेता (पार्टी सचिव गंगानारायण श्रेष्ठ, उपनेता कृष्णप्रसाद शर्मा खनाल, सांसद युवराज श्रेष्ठ, राजेन्द्रमान श्रेष्ठलगायत) अनुपस्थित थिए ।