नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनपछि पुँजीबजारले अपेक्षाअनुसार गति लिन नसकेको भन्दै त्यसका कारण पहिचान गरी तत्काल सुधारका उपाय खोज्नुपर्ने बताएका छन् ।
आइतबार नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ‘नेपालको पुँजीबजार : आर्थिक लगानी आधार’ विषयक कार्यक्रममा बोल्दै थापाले निर्वाचनपछि पुँजीबजारमा सुधार आउने अपेक्षा रहे पनि त्यसअनुसार प्रगति हुन नसकेको बताए ।
उनले पुँजीबजारको वर्तमान अवस्थाका कारणबारे गम्भीर बहस आवश्यक रहेको उल्लेख गर्दै तत्काल सुधार गर्न सकिने विषय पहिचान गर्नुपर्नेमा जोड दिए । संसदमा प्रतिपक्षको भूमिकामा रहेका कांग्रेसका सांसदहरूले पनि पुँजीबजारसँग सम्बन्धित विषयलाई प्रभावकारी रूपमा उठाउनुपर्ने उनको भनाइ थियो ।
थापाले कांग्रेसका नेता तथा कार्यकर्तालाई पुँजीबजारसम्बन्धी जानकारी र शिक्षा प्रदान गर्दै यस विषयमा पार्टीको स्पष्ट तथा व्यापक दृष्टिकोण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
‘चुनावपछि पुँजीबजार सबैभन्दा राम्रोसँग अघि बढ्छ भनेर अनुमान गरिएको थियो । सबैमा उत्साह र अपेक्षा पनि थियो,’ उनले भने, ‘तर, दुर्भाग्यवश हाम्रो पुँजीबजार जसरी जानुपर्ने हो, त्यसरी जान सकेको छैन ।’
उनले पुँजीबजारलाई अर्थतन्त्रमा लगानीको महत्त्वपूर्ण आधारका रूपमा विकास गर्न यससँग सम्बन्धित विषयमा निरन्तर अध्ययन, छलफल र नीतिगत पहल आवश्यक रहेको बताए ।