ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आ-आफ्नो घर फर्किएका छन्।
नेपाल सरकार र ऋणीका प्रतिनिधिबिच शनिबार अर्थात् भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएसँगै धर्ना कार्यक्रम स्थगित भएको हो। दुर्गा प्रसाईं समूहसँग सरकारले यसअघि सहमति गरेको थियो। जसमा लघुवित्त ऋणीका मागसमेत थिए।
सहमतिपश्चात् आज बिहान ८ः५० बजेदेखि सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ।
विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीहरूलाई आठवटा बसमार्फत बिदाइ गरिएको छ। झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायतका जिल्लाका ऋणीहरूलाई आ–आफ्नो क्षेत्रतर्फ पठाइएको छ।