बेल्टारमा पहिलोपटक ‘बेल्टार रन सम्पन’

आइतबार, ७ भदौ, २०८३
डिजिटल संस्करण

स्वस्थ जीवनशैली र नियमित व्यायामको सन्देश बोकेर उदयपुरको चौदण्डीगढी नगरपालिका, बेल्टारमा पहिलोपटक आयोजित ‘बेल्टार रन’ सम्पन्न भएको छ । लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यसमेत जोडिएको दौडमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म तीन सयभन्दा बढी सहभागी भए ।

बेल्टार बजारस्थित पुष्पलाल चोकबाट सुरु भएको दौडमा सहभागीले बजार तथा आसपासका ग्रामीण क्षेत्र समेटिएको निर्धारित मार्ग हुँदै ६.०५ किलोमिटर दूरी पार गरेका थिए । एउटै उद्देश्य र उत्साहका साथ सयौँ नागरिक एकैसाथ दौडिँदा बेल्टारको वातावरण उत्सवमय बनेको थियो ।

दौडमा सहभागीहरूले ‘स्वस्थ जीवनशैली अपनाऔँ, नियमित व्यायाम गरौँ र युवालाई लागुऔषध दुर्व्यसनबाट जोगाऔँ’ भन्ने सन्देश दिएका थिए । आयोजक चौदण्डीगढी साइकल सिटीका अध्यक्ष अनिल पौडेलले बेल्टार रनलाई केवल दौड प्रतियोगिताका रूपमा नभई सामाजिक जागरणको अभियानका रूपमा अघि बढाइएको बताए ।

उनका अनुसार खेलकुद, दौड र नियमित व्यायाममार्फत युवालाई सकारात्मक गतिविधिमा जोड्ने तथा लागुऔषध दुर्व्यसनविरुद्ध समुदायस्तरमै वातावरण निर्माण गर्ने अभियानको मुख्य उद्देश्य रहेको बताइएको छ । 

बेल्टार रनको अर्को आकर्षण सहभागीका लागि गरिएको एउटै प्रकारको पोसाकको व्यवस्था थियो । एउटै रङको पोसाक लगाएर सयौँ नागरिक एकैसाथ दौडिँदा एकता, समानता र सामूहिकताको सन्देशसमेत प्रवाह भएको आयोजकको भनाइ छ । व्यक्तिगत हैसियत, आर्थिक अवस्था वा सामाजिक पहिचानभन्दा माथि उठेर सबैलाई एउटै अभियानमा जोड्ने उद्देश्यले समान पोसाकको अवधारणा ल्याइएको आयोजकले जनाएको छ ।

कार्यक्रमका सदस्य अनुपराज कार्कीले बेल्टार रनलाई एकदिने कार्यक्रममै सीमित नराखिने बताए । उनका अनुसार अभियानलाई ‘हरेक दिन सम्भव भएसम्म दौडिने, हरेक हप्ता सामूहिक रूपमा दौडिने र हरेक महिनाको पहिलो शनिबार बेल्टार रनमा सहभागी हुने’ अवधारणासहित निरन्तरता दिइनेछ ।

आयोजकका अनुसार अबदेखि प्रत्येक महिनाको पहिलो शनिबार बेल्टार रन सञ्चालन हुनेछ । नियमित रूपमा सहभागी हुने नागरिकलाई प्रोत्साहन गर्न आगामी वर्षको वार्षिकोत्सवमा सम्मानपत्र प्रदान गर्ने योजना पनि बनाइएको छ । आगामी वर्ष भदौको पहिलो शनिबार हुने वार्षिकोत्सवलाई भने बेल्टार रनलाई प्रतियोगितात्मक स्वरूपमा आयोजना गर्ने तयारी गरिएको कार्कीले जानकारी दिए ।

कार्यक्रम संयोजक अन्जनी अधिकारीले बेल्टार रनलाई स्वास्थ्यसँग मात्र सीमित नराखी खेलकुद, वातावरण र सामाजिक सचेतनासँग जोडिएको नियमित अभियान बनाउने बताए । उनका अनुसार चौदण्डीगढी साइकल सिटीको आयोजनामा प्रत्येक महिनाको पहिलो शनिबार नियमित रूपमा बेल्टार रन सञ्चालन गरिनेछ ।
 

सुझावित समाचार