किसानका पीडा : जग्गाधनीले डिप बोरिङमा ताला लगाउँदा ४० बिघामा सिँचाइ अवरुद्ध

आइतबार, ७ भदौ, २०८३
डिजिटल संस्करण
  • तरकारी उत्पादनमा असर परेको किसानको गुनासो, चापाकल सुक्ने भएकाले बोरिङ बन्द गरेको जग्गाधनीको दाबी

जग्गाधनीले डिप बोरिङमा ताला लगाएपछि नेपालगन्ज उपमहानगरपालिका– २२, पुरैनीका किसान सिँचाइ सुविधाबाट वञ्चित भएका छन् । जग्गाधनी भूपेन्द्र रेग्मीले ताला लगाएपछि ४० बिघा जमिनमा हुँदै आएको सिँचाइ अवरुद्ध भएको स्थानीय गोपीलाल यादवले बताए । ‘वर्षौँ पहिलेदेखि बोरिङबाट सिँचाइ गर्दै आएका थियौँ । जग्गाधनीले अकस्मात् ताला लगाएपछि सिँचाइ सुविधाबाट वञ्चित भएका छौँ,’ उनले भने ।

डिप बोरिङ ०५७ सालमा जडान भएको हो । जग्गाधनी रेग्मीले गत ५ साउनमा ताला लगाएको स्थानीय किसान रामकृष्ण धोबीले बताए । ‘बोरिङमा ताला लागेपछि सिँचाइ सुविधाबाट वञ्चित भएका छौँ । पानी नपाएर तरकारी हुर्किन पाएन,’ उनले भने, ‘एक बिघा जमिनमा धान खेती गर्न पाएनौँ ।’

सिँचाइ गर्न नपाएका कारण तरकारी खेतीमा असर परेको स्थानीय किरौ मगन्ताले बताए । उनले लौका सुकेको बताउँदै चिचिन्डामा फल नलागेको गुनासो गरे । ‘साउनमा पानी परेन । बोरिङबाट पनि सिँचाइ गर्न पाएनौँ । पानी नपाएर लौका पूरै सुक्यो । चिचिन्डामा पनि फल लागेन,’ उनले भने । 

बोरिङ चलाउँदा घर भत्किने जोखिम बढेकाले ताला लगाएको जग्गाधनीको प्रस्टीकरण
आफ्नो घरको जगमा बोरिङ परेकाले बाध्य भएर ताला लगाएको जग्गाधनी भूपेन्द्र रेग्मीले स्वीकार गरे । ‘बोरिङ चलेका वेला घर थर्किन्छ । बोरिङकै कारण कतै–कतै चर्केको छ,’ उनले भने, ‘बोरिङका कारण घरमा क्षति हुन थालेपछि ताला लगाउन बाध्य भएँ ।’ बोरिङको अवस्थाका बारेमा सर्वेक्षण गर्न माग गरे पनि सुनुवाइ नभएको उनले बताए । स्थानीय किसानलाई सिँचाइबाट वञ्चित गर्ने आफ्नो मनसाय नभएको, तर घर भत्किने खतरा भएपछि ताला लगाएको उनको भनाइ छ । ‘बोरिङको अवस्था सर्वेक्षण गरी प्रतिवेदन तयार पार्न भनेको थिएँ, तर यस विषयमा कसैले चसो दिएन,’ रेग्मीले भने ।

See More On

सुझावित समाचार