किसानले उत्पादन गरेका तरकारी एवं फलफूल स्टोर गर्न कञ्चनपुरको वेदकोट नगरपालिकाले आधुनिक चिस्यान केन्द्र (कोल्डस्टोर) निर्माण गर्दै छ । नगरपालिकाले हरपाल गाउँमा आधुनिक कोल्डस्टोर निर्माण गर्न लागेको हो । नगरपालिकाका अनुसार करिब १० करोडको लागतमा निर्माण हुन लागेको कोल्डस्टोर कृषिजन्य वस्तुको भण्डारणका लागि नगरकै गौरवको योजना हो । यसको क्षमता १५ हजार क्विन्टल रहेको छ ।
नगरपालिका प्रमुख भोजराज बोहराले किसानले उत्पादन गरेका कृषिजन्य वस्तु स्टोर गर्न कोल्डस्टोर बनाउन लागेको बताए । मेयर बोहराका अनुसार पालिकासहितका प्रदेश र संघीय सरकारको लगानीमा निर्माण हुन लागेको हो । ‘यो हाम्रो नगरकै गौरवको योजना हो, यसमा किसानको भविष्य जोडिएको छ,’ उनले भने, ‘तत्कालीन मेयर अशोक चन्दकै पालादेखि निर्माण सुरुवात भएको थियो । अब मेरै कार्यकालमा सञ्चालन गर्छु ।’ मेयर बोहराले आगामी माघ मसान्तभित्रै निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको जानकारी दिए । बाँकी अन्य काम पनि पूरा गरी चैतभित्रै सञ्चालनमा ल्याउने उनको भनाइ छ । बोहराका अनुसार १० कट्ठा जमिनमा निर्माणाधीन भवनको निर्माण ८० प्रतिशत सम्पन्न भइसकेको छ । ‘भौतिक सरचना निर्माण भइसकेका छन्,’ ‘उनले भने, ‘अब तरकारी तथा फलफूलका च्याम्बरभित्र मेसिन जडान गर्न बाँकी छ । पर्खालसहितका संरचना बनाउन मात्रै बाँकी छ ।’
आलु, प्याजलगायत तरकारी एवं फलफूल चिस्यानका कोल्डस्टोर सञ्चालनका लागि नगरपालिकाले कार्यविधि बनाएरै सञ्चालन गरिने मेयर बोहराको भनाइ छ । मेयर बोहराले पश्चिम नेपालका थारू समुदायले उत्पादन गर्ने रैथानी आलुको संरक्षण प्रवर्द्धनदेखिका बजारमा आवश्यकताअनुरूप अफ सिजनमा समेत तरकारी भण्डारणका लागि कोल्डस्टोर लाभदायक हुने बताए । उनले वेदकोटसहितका अन्य पालिकामा आलु उत्पादन राम्रो भएकाले किसानलाई नगर तथा जिल्लामै तरकारी भण्डारको सुविधा हुने बताए । ‘स्वदेशमै तरकारी उत्पादन, भण्डारण तथा बिक्री–वितरण गर्न यो किसान, उपभोक्ताका लागि अत्यन्तै हितकार छ,’ उनले भने, ‘भारतबाट आउने तरकारीसमेत रोक्ने उद्देश्य नगरपालिकाको छ ।’
नगरपालिकाको पूर्वाधार शाखाका अनुसार कोल्डस्टोर निर्माणको काम आव ०७७/७८ देखि नै सुरु भएको हो । यस अवधिमा विभिन्न निर्माण कम्पनीसँग सम्झौता गरिएको र सोहीअनुरूप काम भइरहेको पनि शाखाले जनाएको छ । जसअन्तर्गत नगरपालिकाले नेचुरल–रिदम–चौधरी जेभीले ३० माघ ०८३ मा काम सम्पन्न गर्ने गरी पाँच करोड ६८ लाख ५५ हजार रुपैयाँमा सम्झौता गरेको छ । त्यसअघि जयलक्ष्मी सिसिएसभेजीले दुई करोड २३ लाख, न्यु कालिकाले ४३ लाख, श्री न्यु वासुलिंग कन्स्ट्रक्सनले ६६ लाख र दीपक बोहरा सञ्चालक रहेको निर्माण कम्पनीले ६३ लाखमा भवनसहितका संरचना निर्माण गरिसकेका छन् ।
कोल्डस्टोर निर्माण साइट इन्चार्जसमेत रहेका सबइन्जिनियर दिनेश लामाले भौतिक संरचना निर्माण गरिसकेको बताए । उनले अब विद्युतीयसहितका मेसिन उपकरण जडान गर्न बाँकी रहेको जानकारी दिए । यता, नगर प्रवक्ता चित्रदेव भट्टले कोल्डस्टोर सञ्चालनमा आएसँगै स्थानीय किसान लाभाविन्त हुने बताए । उनले शीतभण्डारणको अभावमा कृषिउपज कुहिएर नष्ट हुने समस्या हट्ने बताए । वेदकोट नगरपालिका– २ का वडाध्यक्ष नरेश सिंहले राजमार्गदेखि कोल्डस्टोरसम्म सडक विस्तार गरेरै भए पनि किसानलाई लाभाविन्त बनाउनुपर्नेमा जोड दिए । नगरकै गौरवको योजनाअन्तर्गत कोल्डस्टोर निर्माण हुन थालेपछि स्थानीय किसान उत्साहित भएका छन् ।