कोशी प्रदेश सरकारले डिजिटल प्रविधिबाट एकीकृत सरुवा व्यवस्थापन प्रणाली सुरु गरेको छ । सुशासन तथा डिजिटल रूपान्तरण अभियानअन्तर्गत सामाजिक विकास मन्त्रालयले भदौ पहिलो सातादेखि इन्टिग्रेटेड ट्रान्सफर मेनेजमेन्ट सिस्टम (आइटिएमएस)मार्फत सरुवा व्यवस्थापन सुरु गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद रिसालले बताए । क्रमशः अन्य मन्त्रालयले पनि डिजिटल प्रणालीकै प्रयोग गरेर कर्मचारी सरुवा गराउनेछन् ।
सचिव रिसालका अनुसार डिजिटल सरुवा प्रणालीले प्रक्रियालाई प्रविधिमैत्री, पारदर्शी र प्रमाणमा आधारित बनाउन सहयोग पुग्ने अपेक्षा छ । ‘हामीले सरुवा प्रक्रियामा हुने कागजी झन्झट, ढिलासुस्ती र व्यक्तिगत पहुँचका आधारमा निर्णय हुने प्रवृत्तिलाई अन्त्य गराउने उद्देश्यले डिजिटल सरुवा प्रणाली सञ्चालनमा ल्याइएका हौँ,’ सचिव रिसालले भने ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कम्प्युटर अधिकृत विनय भास्कर दत्तका अनुसार डिजिटल प्रणाली लागू भएपछि कर्मचारीले सरुवाका लागि भौतिक रूपमा निवेदन बोकेर मन्त्रालय तथा कार्यालय धाउनुपर्ने छैन । सरुवा माग्ने कर्मचारीले प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । सम्बन्धित निकायले त्यही प्रणालीबाट आवेदन व्यवस्थापन र सरुवाको निर्णय गर्नेछ । यो प्रणालीबाट सरुवाको निर्णय भएको पत्र स्वचालित रुपमा तयार हुनेछ । यो प्रणालीमा सरुवापछि आवश्यक पर्ने डिजिटल रमाना र हाजिरी अद्यावधिकको काम पनि प्रणालीबाटै गर्न सकिने व्यवस्था गरिएको छ ।
प्रणालीमा प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीको व्यक्तिगत विवरण र सेवासम्बन्धी अभिलेख सुरक्षित रूपमा राखिनेछ । कुन कर्मचारी कुन कार्यालय र पदमा कार्यरत छन्, सरुवाको निर्णय कुन अवस्थामा छ तथा रमाना र हाजिरी अद्यावधिक भए नभएको विवरणसमेत वास्तविक समयमै हेर्न सकिने व्यवस्था गरिएको छ ।