बक्यौता असुलेरै हेटौँडा कपडा उद्योग चलाउँछौः उद्योगमन्त्री यादव

अर्थ मन्त्रालयसँग थप बजेट नमाग्ने, औद्योगिक क्षेत्रको उठ्न बाँकी भाडा उद्योगमै लगानी गर्ने तयारी

शनिबार, ६ भदौ, २०८३
डिजिटल संस्करण

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले करिब तीन दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग सञ्चालनका लागि तत्काल अर्थ मन्त्रालयसँग थप बजेट नमागिने स्पष्ट पारेकी छन् । 

उद्योगलाई आत्मनिर्भर बनाउने रणनीतिअनुसार औद्योगिक क्षेत्रबाट वर्षौंदेखि उठ्न बाँकी रहेको करिब आधा अर्ब रुपैयाँ बराबरको भाडा बक्यौता असुल भइसकेकाले त्यसैलाई उद्योगको स्तरउन्नति र सञ्चालनमा खर्च गर्ने तयारी गरिएको उनले बताइन् ।

शनिबार परीक्षण उत्पादन भइरहेको हेटौँडा कपडा उद्योगको स्थलगत निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले उद्योगलाई अब परीक्षणमै सीमित नराखी नियमित उत्पादनमा लैजान सरकार केन्द्रित रहेको बताइन् ।

उनले कानुनी प्रक्रिया पूरा गरेर बक्यौता रकम उद्योगमै लगानी गर्ने व्यवस्था मिलाइने जानकारी दिँदै सरकारको उद्देश्य उद्योगलाई सरकारी अनुदानमा निर्भर नभई आफ्नै स्रोतबाट सञ्चालन गर्न सक्षम बनाउनु रहेको बताइन् ।

‘अर्थ मन्त्रालयसँग थप बजेट मागेर मात्रै उद्योग चलाउने हाम्रो सोच छैन,’ उनले भनिन्, ‘औद्योगिक क्षेत्रको वर्षौंदेखिको भाडा बक्यौता कानुनी प्रक्रिया पूरा गरेर असुल गर्छौं र त्यही रकम उद्योगको स्तरउन्नति तथा सञ्चालनमा प्रयोग गर्ने व्यवस्था मिलाउँछौं ।’

मन्त्री यादवले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न नेपाली सेनाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन् । ‘अब हेटौँडा कपडा उद्योग निरन्तर सञ्चालन हुनुपर्छ । त्यसका लागि अझै अग्रसर भएर आवश्यक सहयोग गर्न नेपाली सेनालाई अनुरोध गर्छु,’ उनले भनिन् ।

सुझावित समाचार