देशभरि रासायनिक मलको अभाव भइरहेको वेला बागलुङमा भने अवैध रूपमा ओसारपसार र बिक्री गरेको आरोपमा तीनजना पक्राउ परेका छन्।
बुधबार बागलुङका लागि ल्याएको झन्डै २० बोरा रासायनिक मल अवैध रूपमा बिक्री गरेर वीरगन्ज लैजान लागेको अवस्थामा प्रहरीले मल बिक्री गर्ने डिलर सञ्चालक र कारोबार गरी ओसार्ने व्यक्तिलाई पक्राउ गरेको हो।
बुधबार दिउँसो र बिहीबार बिहान गरी उक्त मल ओसारपसार गरेको अवस्थामा प्रहरीले पर्साको छिपरमाई गाउँपालिका– ६ घर भई २५ वर्षदेखि बागलुङमा बसेर विभिन्न क्रियाकलाप गर्दै आएका ५३ वर्षीय दिनेश पण्डित कुम्हारलाई प्रहरीले पक्राउ गरेको हो।
उनीसँगै बागलुङ नगरपालिका– २ मा धौलागिरि बिउ भण्डार पसल सञ्चालन गरेका कुलबहादुर रानामगर र वडा नं. ३ को शिवधारा चोकमा कालीगण्डकी एग्रोभेट पसल सञ्चालन गरेका विनय शाक्यलाई पनि पक्राउ गरिएको हो।
पण्डितले धौलागिरि बिउ भण्डारबाट ५० केजीका नाै बोरा र कालीगण्डकी मल बिउ भण्डारबाट १० बोरा युरिया मल खरिद गरी वीरगन्ज जाने गाडीमा राखेको भेटिएको हो। मल ओसार्दे गरेको फोटो र भिडियो प्राप्त गरेर प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
बागलुङस्थित साल्ट ट्रेडिङ कर्पोरेसनबाट मल खरिद गरी ती डिलरले बजारआसपासको क्षेत्रमा बिक्री गर्न अनुमति लिएका थिए । कर्पोरेसनले हरेक जिल्लाका लागि आवश्यकताको आधारमा मलको कोटा तोक्ने काम गर्छ । उक्त मल तोकेभन्दा बाहिरको क्षेत्रमा बिक्री–वितरण र ओसारपसार गर्न प्रतिबन्ध छ । बागलुङस्थित साल्ट ट्रेडिङ कर्पोरेसनले बागलुङ जिल्लाको विभिन्न स्थानका लागि मात्र मल ल्याउने गरेको छ । उक्त मल बरामद गरी प्रहरीले सुरक्षित राखेको छ।
प्रहरीले बिउ तथा मल पसलहरूको अभिलेख रजिस्टरलगायतका कागजात झिकाई थप बुझ्ने काम गरिहरेको प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईंले बताए । प्रहरीले ‘कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा ४’ बमोजिमको कसुरमा उनीहरूलाई पक्राउ गरेको बताएको छ।
जिल्ला प्रशासन कार्यालय बागलुङमा ६ दिनको म्याद थप गरेर अनुसन्धान अनुमति लिइएको छ । उक्त दफाअनुसार अवैध कारोबार गर्ने तथा कालोबजारी गर्नेलाई एक वर्षसम्म कैद वा दुई लाख ५० हजार रुपैयाँसम्म जरिवाना तथा दुवै सजाय हुने व्यवस्था गरेको छ।