तीन वर्षीया नाबालिकाको हत्या भएको विरोधमा सिमराबजारमा भएको आन्दोलनका कारण रोकिएका १२० वटा ग्यास बुलेट प्रहरीको स्कर्टिङमा छुटेका छन्।
काठमाडौं, चितवन र पोखराका बजारमा ग्यास वितरण गर्ने उद्योगका लागि आएको ग्यास बिचबाटोमै रोकिँदा वितरणमा समस्या आएको थियो। तर, शुक्रबार दिउँसो सबै बुलेट छुटेकाले रातिसम्म धादिङ, काठमाडौं, चितवन र पोखराका उद्योगमा बुलेट पुग्ने आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए।
‘सिमरामा रोकिएका सबै बुलेट प्रहरीको सहयोगमा छुटेका छन्। रातिसम्म सम्बन्धित उद्योगमा पुग्छन्। शनिबार र आइतबारको बिदामा समेत उद्योग खोलेर ग्यास वितरण गर्न निर्देशन दिएको छु,’ उनले भने, ‘उद्योगी पनि बिदा नभनी शनिबार र आइतबार ग्यास वितरण गर्न राजी भएका छन्।’
१२० बुलेटमध्ये करिब सय बुलेट ग्यास धादिङ र काठमाडौंका उद्योगका हुन्। धादिङमा रहेका सबै उद्योगको मुख्य बजार काठमाडौं उपत्यका हो। त्यसैले, शुक्रबार रातिसम्म उद्योग पुगेका बुलेटबाट शनिबार बिहानैदेखि सिलिन्डरमा ग्यास भरेर बजार पठाउने साहले जानकारी दिए।
१२० बुलेटमा करिब डेढ लाख सिलिन्डरमा भर्ने ग्यास हुन्छ। त्यसैले, उक्त परिमाणको ग्यास बजार पठाउँदा आपूर्ति सहज गर्न मद्दत पुग्ने उनले बताए।