सशस्त्र प्रहरीद्वारा कञ्चनपुरमा एकै दिन १० लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण

सशस्त्र प्रहरीले कञ्चनपुरमा एकै दिन १० लाखभन्दा बढीको भन्सार चोरीछली गरेर ल्याएका अवैध सामान बरामद गरेको  छ । ५ भदौ (शुक्रबार) एकै दिन सीमावर्ती जिल्लाका विभिन्न स्थानबाट अवैध समान बरामद गरेको हो । सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रेमप्रकाश सिग्देलले १० लाख ६ हजारबराबरका अवैध सामान नियन्त्रणमा लिएको बताए ।

उनका अनुसार शैलेश्वरी गणमातहत रहेका गुल्म एवं बिओपीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले बेलौरी, पुनर्वास, भुडा, ब्रह्मदेवलगायतका क्षेत्रबाट अवैध सामान बरामद गरिएको बताए । एसपी सिग्देलका अनुसार तस्करीमा संलग्न एक भारतीय नम्बर प्लेटसहितका चार मोटरसाइकल, चिनी, सुर्ती, चस्मा, घडी, पेय पदार्थसहितका अवैध सामान बरामद गरेर त्रिनगर र गड्डाचौकी भन्सार चलान गरिएको बताए । साथै भारतबाट प्रतिबन्धित गरिएको ब्राेइलर कुखुरासमेत बरामद गरेर नष्ट गरेको छ । 

तस्करीमा सामान बरामद गरेर भन्सार चलान गरेपछि तस्कर समूहको बिचल्ली भएको छ । सुदूरपश्चिममा डिआइजी दिग्यविजयी सुवेदीले प्रदेश र एसपी सिग्देलले कञ्चनपुर जिल्लाको कमान्ड सम्हालेपछि तस्कर समूहसामु लम्पसार, हात फैलाउने नभई तस्करको टाउको डन्डा बजार्नुपर्ने नीति अवलम्बन गरेर चोरी तस्करी नियन्त्रणमा २४ सै घण्टा खटिन कडा निर्देशन दिएपछि प्रदेश, जिल्लाभरिका सशस्त्र प्रहरी सीमा क्षेत्रमा हाइअलर्ट सक्रिय भएकाले चोरी तस्करी नियन्त्रण भइरहेको दाबी  छ । तर, नागरिकले भने विगतको जस्तो सुरुमा सामान समात्ने, त्यसपछि लाइन आए छाड्ने काम अहिलेको सशस्त्र प्रहरीले गर्न नहुने सुझाव दिएका छन् । निरन्तर भन्सार राजस्व चोरीछलीविरुद्ध सशस्त्र प्रहरी सक्रियतापूर्वक कामकाज गर्नुपर्नेमा नागरिक समाजको जोड छ । 

सुझावित समाचार