किसानकै सहभागितामा धनकुटामा कोदोका १० जातको परीक्षण

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण

स्थानीय हावापानी र माटोसँग राम्रोसँग अनुकूल हुने कोदोको जात पहिचान गर्न धनकुटामा किसानकै सहभागितामा १० जातको जातीय परीक्षण सुरु गरिएको छ।

धनकुटा नगरपालिका– ८, खाम्बेलामा सुरु गरिएको परीक्षणमा किसानका लागि सिफारिस गरिएका उन्नत जात, अनुसन्धानकै क्रममा रहेका जात तथा स्थानीय रैथाने जातलाई एउटै बारीमा रोपेर तुलनात्मक अध्ययन थालिएको हो। किसानले आफ्नै खेतमा विभिन्न जातको वृद्धि, उत्पादन क्षमता र स्थानीय वातावरणसँगको अनुकूलता प्रत्यक्ष अवलोकन गर्न पाउने गरी परीक्षण सञ्चालन गरिएको छ।

परीक्षणमा ओख्ले, डल्ले, काभ्रे– १, काभ्रे– २ र सैलुङ गरी पाँच उन्नत जात समावेश छन्। त्यस्तै, अनुसन्धानकै क्रममा रहेका केएलई १५८, केएलई १५९ र केएलई २३६ तथा धनकुटामा प्रचलित स्थानीय जात लुली र मुड्की पनि परीक्षणमा राखिएका छन्।

वैज्ञानिक विधि आरसिबिडीअनुसार यी १० जातलाई विभिन्न लाइनमा विभाजन गरी ३० वटा साना क्षेत्रमा रोपिएको छ। एउटै स्थान र लगभग समान वातावरणीय अवस्थामा फरक–फरक जात हुर्काएर उत्पादन क्षमता, स्थानीय हावापानी तथा माटोसँगको अनुकूलता र किसानका लागि उपयोगिताको तुलनात्मक अध्ययन गरिनेछ।

परीक्षणका क्रममा कुन जातको बोट राम्रो हुन्छ, कुनमा रोग तथा किराको जोखिम कम हुन्छ, कुन जातले बढी उत्पादन दिन्छ, दानाको गुणस्तर कस्तो हुन्छ र स्थानीय किसानका लागि कुन जात आर्थिक रूपमा बढी उपयोगी हुन्छ भन्ने विषयमा समेत अध्ययन गरिनेछ। किसानको आफ्नै अनुभवलाई पनि अनुसन्धानको महत्त्वपूर्ण आधार बनाइनेछ।

वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार र विकास केन्द्र (सिप्रेड) नेपालका कार्यक्रम संयोजक टुकनारायण अर्यालले किसानलाई उन्नत जातको कोदो उपलब्ध गराउने उद्देश्यले जातीय परीक्षण अघि बढाइएको बताए। स्थानीय किसानकै खेतमा परीक्षण गर्दा अनुसन्धानको निष्कर्ष व्यावहारिक र किसानको आवश्यकतासँग जोडिने उनको भनाइ छ।

अर्यालका अनुसार कोदोको जातको मूल्यांकन बोटको उचाइका आधारमा मात्र हुँदैन। उत्पादन, स्थानीय माटो र मौसमसँगको अनुकूलता, दानाको गुणस्तर, खेती गर्न सहजता तथा किसानले प्राप्त गर्ने आर्थिक लाभसमेत जात छनोटका महत्त्वपूर्ण आधार हुन्।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का डा. कमल अर्यालले स्थानीयस्तरमै वैज्ञानिक अनुसन्धान सञ्चालन गरी किसानलाई प्रत्यक्ष सहभागी गराउँदा उनीहरूका लागि उपयुक्त जात र प्रविधि छनोट गर्न सहज हुने बताए। किसानको सहभागितामा गरिने यस्तो अनुसन्धानले कोदोको उत्पादन वृद्धि गर्नुका साथै खाद्य तथा पोषण सुरक्षामा समेत योगदान पुर्याउने उनको भनाइ छ।

सामान्यतः कृषि अनुसन्धानका निष्कर्ष अनुसन्धान केन्द्र वा प्रयोगशालाबाट किसानसम्म पुग्ने गर्छन्। खाम्बेलामा भइरहेको परीक्षणले भने किसानलाई अनुसन्धान प्रक्रियामै प्रत्यक्ष सहभागी गराएर नयाँ अभ्यासको सुरुवात गरेको छ। यसबाट स्थानीय आवश्यकताअनुसार उपयुक्त कोदोको जात पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सुझावित समाचार