भन्सारसम्बन्धी पूर्वसूचना आदानप्रदान गर्न सासेक राष्ट्रबिच समझदारी

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण

नेपालसहित दक्षिण एसियाका चार राष्ट्रले भन्सारसम्बन्धी पूर्वसूचना आदानप्रदान गर्ने समझदारी गरेका छन् । दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)अन्तर्गत सदस्य राष्ट्रहरू नेपाल, भुटान, माल्दिभ्स र बंगलादेशले वस्तुहरूको पूर्वआगमन सूचना आदानप्रदानका लागि समझदारी गरेका हुन् ।

माल्दिभ्समा आयोजित सासेकको १४औँ भन्सार सबग्रुपको बैठकमा उक्त समझदारी भएको हो । सासेक राष्ट्रहरूबिच व्यापार सहजीकरण तथा भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउन तयार गरिएको समझदारीपत्रमा चार देशका भन्सार प्रशासनको तर्फबाट हस्ताक्षर भएको हो ।

नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक यमलाल भुसालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यस समझदारीको मुख्य उद्देश्य सदस्य राष्ट्रहरूबिच वस्तुहरूको पूर्वआगमन सूचना (प्रि–अराइभल इन्फर्मेसन) आदानप्रदान गर्नु रहेको छ ।

यसबाट मालवस्तु भन्सार कार्यालयमा आइपुग्नुअघि नै उपलब्ध सूचनाको विश्लेषण गरी जोखिम व्यवस्थापन गर्न, भन्सारको नियन्त्रणलाई थप प्रभावकारी बनाउन तथा छिटो र सहज रूपमा वस्तु जाँचपास गर्न सहयोग पुग्नेछ ।

See More On

सुझावित समाचार