इंग्लिस प्रिमियर लिग आजदेखि

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण
  • २० क्लब सहभागी इंग्लिस प्रिमियर लिगमा साबिक विजेता आर्सनल, म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सीलाई उपाधि दाबेदारका रूपमा हेरिएको छ 

इंग्लिस प्रिमियर लिग २०२६/२७ को नयाँ सिजन शुक्रबारदेखि सुरु हुँदै छ । साबिक विजेता आर्सनलले घरेलु मैदानमा नवप्रवेशी कोभेन्ट्री सिटीविरुद्धको खेलसँगै नयाँ सिजनको इंग्लिस प्रिमियर लिग सुरु हुनेछ । मिकेल आर्टेटाको प्रशिक्षणमा रहेको आर्सनलले गत सिजनमा २२ वर्षको पर्खाइमा उपाधि हात पारेको थियो । 

आर्सनलले गत सिजनको अन्तिम पाँच खेलमा जित निकाली दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई पछि पारेको थियो । २० क्लबबिच प्रतिस्पर्धा चलिरहँदा प्रशिक्षक अर्टेटासमक्ष उपाधि रक्षा चुनौती हुनेछ । आर्सनललाई नजिकको दूरीबाट म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सीजस्ता क्लबले रोक्ने सम्भावना पनि उत्तिकै छ । इंग्लिस पण्डितहरूले आर्सनलकै दबदबा रहने र उपाधि जित्ने अनुमान गरेका छन् । 

चेल्सीका पूर्वखेलाडी फ्रान्क लाम्पार्ड प्रशिक्षक रहेको कोभेन्ट्री पनि आर्सनललाई स्तब्ध बनाउने योजनामा छ । कम्युनिटी सिल्डमा आर्सनलले दमदार प्रदर्शन गर्दै सिटीलाई हराएको थियो । त्यसैले पनि आर्सनलको आक्रमणमा कोभेन्ट्रीले रक्षात्मक खेल प्रदर्शन गर्नेछ । यसपटक लिगमा नयाँ कीर्तिमान बनिसकेको छ । नौ नयाँ प्रशिक्षकले यसपटक युरोपकै चर्चित र सर्वाधिक सफल लिगमा डेब्यु गर्दै छन् । लिग इतिहासमा सबैभन्दा धेरै क्लबले नयाँ प्रशिक्षक नियुक्त गरेको पहिलोपटक हो ।

नयाँ प्रशिक्षकलाई चुनौती
यसपटक म्यानचेस्टर सिटीले एन्जो मारेस्का, लिभरपुलले एन्डोनी इराओला, बर्नामाउथले मार्को रोज, चेल्सीले जाभी ओलोन्सो, क्रिस्टल प्यालेसले पिएर सागे, फुलह्यामले अल्भारो अल्बेलोआ, इसविच टाउनले ग्यारी ओनेइल, न्युक्यासलले म्याथिस जाइस्ली र नटिंघम फोरेस्टले ओलिभर ग्लास्नेरलाई अनुबन्ध गरेका छन् ।

गत सिजनमा ३८ खेलबाट ८५ अंक जोड्दै आर्सनल च्याम्पियन बनेको थियो । अर्टेटाकै अहिले प्रिमियर लिगका सबैभन्दा अनुभवी र पुराना प्रशिक्षक हुन् । डिसेम्बर २०१९ मा आर्सनलको जिम्मेवारी सम्हालेका उनले सात वर्ष बिताइसकेका छन् । यसपटक प्रिमियर लिगका नयाँ प्रशिक्षक हुन्, एन्डोनी इराओला । आर्ने स्लटको बर्खास्तीपछि लिभरपुलले स्पेनिस प्रशिक्षक एन्डोनी इराओलालाई नियुक्त गरेको छ । इराओलाको पहिलो ६ वटै प्रिमियर लिग खेल नयाँ स्थायी प्रशिक्षक भएका टोलीविरुद्ध हुनेछ ।

पेप ग्वार्डिओलाले गत सिजनको अन्त्यसँगै म्यानचेस्टर सिटीमा नरहने निर्णय गरेका थिए । एक दशकभन्दा बढी सिटीमा रहँदा ग्वार्डिओलाको विरासत धान्ने जिम्मेवारी एन्जो मारेस्काले पाएका छन् । मारेस्कालाई प्रिमियर लिग र च्याम्पियन्स लिग उपाधि पुनः जिताउने दबाब र अवसर दुवै हुनेछ । 

चेल्सीले लियाम रोजेनियरको असफल कार्यकालपछि जाभी ओलोन्सोलाई अनुबन्ध गरेको हो । उनले जुलाई २०२६ बाट जिम्मेवारी पाएका हुन् । जाभीले खेलाडीका रूपमा प्रिमियर लिगको अनुभव बटुलिसकेका छन् । इंग्ल्यान्डका पूर्वखेलाडी माइकल क्यारिक १३ जनवरी २०२६ बाट म्यानचेस्टर युनाइटेडको प्रशिक्षक रहेका छन् । युनाइेटडलाई प्रिमियर लिगसँगै च्याम्पियन्स लिग उपाधि जिताउने दबाब र अवसर उनीमाथि रहेको छ ।

सुझावित समाचार