मुगुको प्रसिद्ध छायानाथ धामको तीर्थयात्रा सुरु भएको छ। बिहीबार मन्दिरमा रहेका शिवजीको मूर्ति (गाथ) पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित मुगुम कार्मारोङ गाउँपालिका– १ मा रहेको छायानाथको मुख्य मन्दिरमा लगिएको हो।
हरेक वर्ष श्रावण शुक्लपक्ष अष्टमीका दिन जिल्लाको प्रसिद्ध छायानाथ मन्दिरमा रहेको छायानाथ ठाकुरज्यूको मूर्ति पवित्र धाम छायानाथमा स्नान गर्न लैजाने परम्परा छ।
छायानाथमा लगिएको शिवको मूर्ति (गाथ) जनैपूर्णिमासम्म छायानाथको मुख्य मन्दिरमा रहने र दर्शन तथा पूजापाठका लागि कर्णाली र सुदूरपश्चिमसहित लुम्बिनी र गण्डकीका केही जिल्ला तथा भारतबाटसमेत तीर्थयात्रीहरू दर्शन गर्न आउने गर्छन्।
गाथसहित बिहीबार हिँडेको टोली तेस्रो दिनको मध्याह्नसम्म मुख्य धाम छायानाथ पुग्छ भने करिब ५–६ दिनसम्म छायानाथमै बसेर पूजापाठ, होम व्रत गर्दछ। त्यसमा वरदान माग्न तीर्थालुको ओइरो लाग्ने गरेको छायानाथ मन्दिरका पुजारी सनतकुमार हमालले बताए। महादेवले बोकेकी मृत सतीदेवीको पतन भएर बाँकी रहेको सम्पूर्ण अंग छायानाथमा पतन भएको भन्ने स्वस्थानीमा उल्लेख भएकाले यस ठाउँलाई छायानाथ तीर्थस्थलका रूपमा पुज्न थालिएको उनको भनाइ छ।
उनका अनुसार उक्त मन्दिरमा पुग्ने तीर्थालुहरूले आफ्नो आत्मविश्वासका साथ श्राद्ध, होम गर्ने गरेका छ्न। कसैले व्रतबन्धसमेत गर्छन्। कोही धामीझाँक्री बनेर आउने गरेका छन्। कोही देवताका घन्टमाला पवित्र बनाउन आउने गरेको उनले बताए।
बिहीबार प्रस्थान गरेको टोली पूर्णिमाको १२ बजेपछि वा अर्को दिनमा फर्किने गर्दछ। गाथ र पुजारीको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसँगै खटिएको हुन्छ। साथै ऋणमोक्षको मूर्ति (गाथ) छायानाथको मूर्ति लगिएको दोस्रो दिन प्रस्थान गर्ने परम्परा छ।