सुदूरपश्चिम प्रदेश कैलाली, कञ्चनपुरको उत्तरी चुरे धौलेपानी राष्ट्रिय वनबाट बरामद गरिएको काठ कञ्चनपुरकै भएको एक छानबिन टोलीले निष्कर्ष निकालेको छ। गत १५ साउन ०८३ मा धौलेपानी राष्ट्रिय वनको काठ कृष्णपुर– १ दीपेन्द्र स्मृति सामुदायिक वनसहितका क्षेत्रबाट बरामद गरिएको काठ छानबिनका लागि गठित क्षेत्रीय वन निर्देशनालयको छानबिन टोलीले उक्त काठ कञ्चनपुर भूगोलकै भएको निष्कर्ष निकालेको हो।
झन्डै डेढ हजार क्युफिट अवैध रूपमा ट्याक्टरमा ओसारिरहेको उक्त सालको काठ डिभिजन वन कार्यालय कञ्चनपुरसहित प्रहरीको संयुक्त टोलीले बरामद गरेको थियो। अहिले घाटगद्दीको समयसमेत नभएकाले गैरकानुनी रूपमा कैलाली वनका कर्मचारीको मिलेमतोमा तस्करी हुन लागेको भन्दै सरोकारवाला संरक्षणकर्मीबाट आवाज उठेलगत्तै क्षेत्रीय वन निर्देशनालयले वन अधिकृत बालमुकुन्द भट्टको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।
सुदूरपश्चिम प्रदेश वन निर्देशनालयले गरेको छानबिन प्रतिवेदनअनुसार धौलेपानीमा कटान गरिएका रुख कञ्चनपुरको क्षेत्रमा पर्ने देखिएको र कञ्चनपुरको काठ डिभिजन वन कार्यालय कैलालीलाई काट्नेदेखिका घाटगद्दीका लागि कसले अनुमति दिएको निष्कर्ष निकालेको जनाएको छ। सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टले छानबिन प्रतिवेदन अनुरूप उक्त बरामद गरिएको काठ कञ्चनपुरकै रहेको निष्कर्ष निकालेको बताए ।
‘छानबिन प्रतिवेदनले रुख कटान गरिएको क्षेत्र कञ्चनपुरमा पर्ने देखाएको छ,’ उनले भने, ‘धौलेपानी विवादित क्षेत्र हो भन्ने थाहा हुँदाहुँदै सोही क्षेत्रका कटान आदेश किन दिइयो ?, अहिले ढुवानीको समय पनि होइन, प्रतिवेदनका आधारमा थप छानबिनदेखि कारबाही प्रक्रिया अघि बढाइएको छ, निर्देशनालयले डिभिजन वन कार्यालय कैलालीका प्रमुख ठाकुरलाई स्पष्टीकरण सोधिसकेको हो, अहिले बर्खायाममा घाटगद्दी गर्ने उपयुक्त समय नहुँदा पनि किन गरियो, विवादित ठाउँ हो भन्ने थाहा हुँदाहुँदै पनि सोही क्षेत्रमा किन कटान आदेश दिइयो ? र अरू कुनै कर्मचारीको संलग्नता छ भने कारबाही गरिएको छ वा छैन ? भनेर स्पष्टीकरण सोधिएको छ ।’