बागमती प्रदेशमा नयाँ सरकार गठनलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र चर्किएको विवादबिच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमालेका नेता किरण थापामगरलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाएका छन् ।
प्रदेश प्रमुखको कार्यालयले बिहीबार अपराह्न ४ः०५ बजे नेपालको संविधानको धारा १६८ (२) बमोजिम थापालाई मुख्यमन्त्री नियुक्त गर्ने र त्यसको १५ मिनेटपछि ४: २० बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरेको छ ।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी सूचनाअनुसार प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्थाअनुसार प्रक्रिया अघि बढाइएको हो ।
एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाको प्रस्तावमा किरण थापाले एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ गरी ६३ सांसदको समर्थनसहित बुधबार प्रदेश प्रमुखसमक्ष सरकार गठनको दाबी पेस गरेका थिए । १०४ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ ।
राप्रपाको समर्थनमै विवाद
यद्यपि, थापाको दाबीमा निर्णायक बनेको राप्रपाको समर्थन अहिले विवादित बनेको छ । राप्रपा संसदीय दलका नेता उद्धव थापाले किरण थापालाई समर्थन गरेको पत्र प्रदेश प्रमुखसमक्ष बुझाएका थिए । तर, त्यसलगत्तै राप्रपाको केन्द्रीय नेतृत्वले उक्त समर्थनलाई अस्वीकार गर्दै प्रदेश प्रमुखलाई छुट्टै पत्राचार गरेको छ ।
महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ताराजनीतिमा सहभागी नहुने र पार्टीको निर्णय तथा निर्देशनविना बुझाइएको समर्थनपत्रलाई मान्यता नदिन आग्रह गरेका छन् ।
त्यसैगरी, राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले पनि संसदीय दलको औपचारिक बैठक नै नबसी व्यक्तिगत रूपमा समर्थनपत्र बुझाइएको दाबी गर्दै त्यसका आधारमा कुनै प्रक्रिया अघि नबढाउन प्रदेश प्रमुखसमक्ष अनुरोध गरेकी छिन् ।
यसबिच पार्टीको निर्णयविपरीत सरकार गठनमा समर्थन गरेको आरोपमा संसदीय दलका नेता उद्धव थापाविरुद्ध कारबाही प्रक्रिया पनि अघि बढाइएको छ ।
राप्रपाभित्रको विवाद समाधान नभइसके पनि प्रदेश प्रमुखको कार्यालयले भने नियुक्ति प्रक्रिया नरोकेको हो ।
प्रदेश प्रमुख कार्यालयका अनुसार मुख्यमन्त्री नियुक्तिको दाबी संवैधानिक प्रक्रियाअनुसार प्राप्त भएकाले सोही आधारमा प्रक्रिया अघि बढाइएको छ ।
प्रदेश प्रमुखको कार्यालयले शपथग्रहण समारोहमा सहभागी हुने सबैलाई औपचारिक पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ ।
तय कार्यक्रमअनुसार किरण थापा मुख्यमन्त्री नियुक्त हुँदा उनले संविधानअनुसार ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ ।