प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहतको राष्ट्रिय सतर्कता केन्द्रले प्रशासनिक ढिलासुस्ती र अनुशासनहीनता नियन्त्रण गर्न अनुगमन तथा कारबाहीलाई तीव्र बनाएको छ।
केन्द्रका अनुसार गत चैतदेखि साउनसम्म दर्ता भएका एक हजार २९८ उजुरीमध्ये एक हजार ११४ वटा अर्थात् ८५.८२ प्रतिशत उजुरी फर्स्याेट भएका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.७२ प्रतिशत विन्दुले बढी हो।
यस अवधिमा केन्द्रले ९२४ वटा कार्यालय अनुगमन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा ३१८ वटा कार्यालय मात्र अनुगमन गरिएको थियो। यसरी कार्यालय अनुगमनको संख्या झन्डै तीन गुणाले बढेको केन्द्रले जनाएको छ।
अनुगमनका क्रममा आचारसंहिता उल्लंघन गर्ने १० हजार २६८, तोकिएको पोसाक नलगाउने ६४५ र कार्यकक्षमा अनुपस्थित ९१ गरी कुल ११ हजार चारजना कर्मचारीमाथि कारबाही गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा ३१८ कार्यालयको अनुगमनबाट दुई हजार ७७५ कर्मचारी कारबाहीमा परेका थिए।
केन्द्रले सरकारी निकायमा भ्रष्टाचार, कर्मचारीको आचारसंहिता उल्लंघन वा शंकास्पद सम्पत्तिसम्बन्धी सूचना भए जानकारी गराउन आग्रह गरेको छ। यस्ता सूचना केन्द्रको हटलाइन नम्बर ०१४२००३४५ मा फोन गरेर दिन सकिने जनाएको छ।