नेपाली एथलेटिक्स धावक आयुष कुँवरले दुई सय मिटर दौडमा आफ्नै रेकर्ड सुधार गरेका छन् । ९ अगस्टमा लन्डनमा आयोजित विश्व प्रसिद्ध लन्डन म्याराथनमा नेपालबाट प्रतिनिधित्व गरेका कुँवरले कम्युनिटी ट्र्याकअन्तर्गत दुई सय मिटर दौड २१.६६ सेकेन्डमा पूरा गर्दै व्यक्तिगत रेकर्ड सुधार गरेका हुन् । यसअघि यसै विधामा उनले गत ११ जुलाईमा अमेरिकाका क्यालिफोर्नियामा भएको दौडमा २१.८७ सेकेन्डको नयाँ रेकर्ड राखेका थिए ।
एक महिनाको अन्तरमा उनले आफ्नो रेकर्ड सुधार गर्न सफल भएका हुन् । यसैगरी, अमेरिकाको नर्वलिकमा भएको दौडमा उनले सय मिटर दौडमा १०.८७ सेकेन्ड पूरा गरेका थिए । उनले भाग लिएको म्याराथन दौड विश्व एथलेटिक्स महासंघबाट मान्यताप्राप्त हो । महासंघबाट मान्यता प्राप्त हुने हरेक दौडमा बन्ने रेकर्ड आधिकारिक हुने गर्छन् ।
यस किसिमको दौडमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको नियम, मापदण्ड र कीर्तिमानलाई आधिकारिक रूपमा मान्यता दिन्छ । संस्थाबाट स्वीकृत पाएको प्रतियोगितामा बनेको कीर्तिमानलाई मात्रै अन्तर्राष्ट्रियस्तरमा वैध र आधिकारिक मानिन्छ । कुँवरलाई शिवम् सिमेन्टले नेपाली खेलकुदको प्रवर्द्धन तथा प्रतिभावान् खेलाडीहरूको प्रोत्साहनका लागि अनुबन्धित गरेको हो । उनको सन् २०२३ देखिको एथलेटिक्स करिअरमा शिवम् सधैं साथमा रहेको छ ।
सन् २०२५ मा दक्षिण कोरियाको गुमीमा भएको एसियाली एथलेटिक्स प्रतियोगिताको क्रममा ह्यामस्ट्रिङ चोटका कारण प्रतिस्पर्धाबाट बाहिरिन बाध्य भएका आयुषले कठिन पुनरागमन गर्दै एक वर्षपछि आफ्नै रेकर्ड सुधार गरेका हुन् । सन् २०२७ मा अमेरिकामा हुने विश्व मास्टर इन्डोर च्याम्पियनसिपका लागि कुँवरका प्रशिक्षण साझेदार शिवराज पार्कीलाई सहयोग गर्ने लक्ष्यसमेत शिवम् सिमेन्टको रहेको छ ।