बजारमा ग्यास अभाव भएपछि आयात बढाएर साउनमा मात्रै ४० लाख ३६ हजार ३ सय ६४ थान सिलिन्डर ग्यास भरेर पठाइएको छ । साउनमा ५७ हजार ३ सय १६ टन ग्यास आयात गरेर उक्त परिमाणको सिलिन्डर बजारमा पठाएको आयल निगमको तथ्यांक छ । साउनमा आयात भएको परिमाण कुनै एक महिनामा भित्रिएको हालसम्मकै सबैभन्दा ठुलो परिमाण हो । यसअघि गत फागुनमा ५१ हजार टन ग्यास आयात भएको थियो ।
साउनमा तुलनात्मक रूपमा धेरै ग्यास माग भएपछि भदौमा ६० हजार टन आयातका लागि पहल थालिएको निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए । उनका अनुसार नेपालको मागअनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी)ले लोडिङ दिन पनि सहमति जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले समेत परराष्ट्र मन्त्रालयमार्फत भारतलाई तीन महिनाका लागि मासिक ६० हजार टन ग्यास आयातका लागि स्वीकृति दिन पत्राचार गरेको छ । भारतले उक्त पत्रको जवाफ भने दिइसकेको छैन । तर, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधिर जैसवालले केही समयअघिको नियमित प्रेस मिटमा नेपालको आवश्यकताअनुसार पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्दै आएको बताएका थिए ।
बजारमा ग्यास आपूर्ति असहज भएपछि आयल निगमले भारतबाट आयात परिमाण बढाएर आपूर्ति सहज बनाउने तयारी गरिएको कार्यकारी निर्देशक साहले बताए । ‘जतिसक्दो धेरै ग्यास आयात गरेर उपभोक्ताको माग सम्बोधन गर्ने प्रयासमा छौँ,’ उनले भने, ‘भारतले पनि हाम्रो मागअनुसार लोडिङ दिइरहेको छ ।’ आइओसीले हल्दिया, दुर्गापुर, पानिपत, बन्थरा, मथुरा र बरौनी रिफाइनरीबाट नेपालले ग्यास आयात गरिरहेको छ । यी सबै टर्मिनलमा ग्यास लिन पुगेका बुलेटलाई नियमित रूपले लोडिङ दिइरहेको साहले जानकारी दिए । ‘मागेजति ग्यास भारतले दिइरहेका कारण सबै टर्मिनलबाट भदौ महिनामा निरन्तर ग्यास उठाउनेछौँ,’ उनले भने, ‘हाम्रो टार्गेट भनेको भदौमा ६० हजार टनसम्म ल्याउने हो ।’
ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले पनि भदौमा ६० हजार टन आयात हुने अवस्था रहेको बताए । ‘१ भदौदेखिको लोडिङ अनुपात हेर्ने हो भने ६० हजार टन नै ग्यास दिने सोचमा आइओसी रहेको देखिन्छ । किनभने, ३० दिनमा ६० हजार दिने गरी प्रत्येक दिनको कोटा बाँडफाँट गरेर भारतले ग्यास दिइरहेको छ ।’ आयल निगमबाटै भदौमा ५५ हजार टन ग्यास आयातका लागि पत्राचार भएकाले ६० हजार ल्याउन मुस्किल नहुने उनले बताए । ‘साउनमा ४९ हजार ५ सय टन ग्यास आयातको कोटा थियो, तर ५७ हजार टनभन्दा बढी आयात भएको छ । यो दृष्टान्तलाई हेर्ने हो भने पनि भदौमा ६० हजार टन मज्जाले ल्याउन सकिन्छ,’ उनले भने ।
आयल निगमले नेपालबाट नजिकको दूरीमा रहेका रिफाइनरीबाट ग्यास दिन पनि आइओसीलाई आग्रह गरेको छ । अहिले सबैभन्दा टाढा १२ सय किलोमिटर दूरीमा रहेको पाराद्वीप रिफाइनरीबाट आइओसीले धेरै ग्यास दिइरहेको छ । उक्त स्थानमा लोड भएको ग्यास ल्याउन कम्तीमा चार दिन लाग्छ । त्यसैले, निगमले चार सय किलोमिटर टाढा रहेका बरौनी र एक हजार किलोमिटर टाढा रहेको मथुराबाट धेरै ग्यास लोड दिन आइओसीलाई आग्रह गरेको छ ।
शुक्रबारसम्म ग्यास आपूर्ति सहज हुने उद्योगीको दाबी
शुक्रबारसम्म ग्यास आपूर्ति सहज हुने उद्योगीहरूले दाबी गरेका छन् । बुधबार दिउँसो ग्यास उद्योगीसँग आयल निगमले छलफलमा उनीहरूले यस्तो बताएका हुन् । मंगलबार मात्रै बरौनीबाट ५३, मथुराबाट ३० र पाराद्वीपबाट ४९ गरी कुल एक सय ३२ बुलेटमा ग्यास आयात भएको छ । उक्त ग्यास बुधबार साँझसम्म सम्बन्धित उद्योगमा पुगिसकेको ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले बताए । ‘उक्त ग्याससहित थप आउने परिमाण बिहीबार र शुक्रबार पठाएपछि बजारमा ओभर फ्लो हुन्छ भन्ने हाम्रो बुझाइ छ,’ उनले भने, ‘त्यसपछि दुई दिनमै ग्यास सहज हुन्छ ।’ त्यस्तै, भारतबाट आयात हुने परिमाण बढाउने र त्यसका लागि बुलेटको व्यवस्थापन गर्नेबारे पनि छलफल भएको ग्यास उद्योग संघका अध्यक्ष चन्दले बताए । ‘मासिक ६० हजार टनसम्म ग्यास आयात गर्न बुलेटको कमी हुँदैन । अहिले परिचालन भइरहेका करिब ६ सय बुलेटले नै धान्न सकिन्छ,’ उनले भने ।