हेटौँडा उपमहानगरपालिका– १९ स्थित बासुदेव खहरे खोलाले बगाएका चार बालिकामध्ये एकजनाको मृत्यु भएको छ भने दुईजना अझै बेपत्ता छन्। एक बालिका सकुशल फेला परेकी छिन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार साँझ करिब ५ः५५ बजे निर्मल माध्यमिक विद्यालय, बस्तीपुरबाट घर फर्किने क्रममा बासुदेव खोलामा बनेको लच्का तर्ने वेला अचानक आएको भेलले चार बालिकालाई बगाएको थियो।
प्रहरीले तत्काल इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा २० सदस्यीय टोली परिचालन गरेको थियो।
खोजीका क्रममा हेटौँडा–१९ बस्तीपुरनिवासी दीप स्याङ्ताङकी ८ वर्षीया छोरी रोशनी स्याङ्तान बगाएको स्थानबाट करिब ५०० मिटर तल रुखको जरामा अडिएको अवस्थामा फेला परेकी थिइन्। उनलाई तत्काल हेटौँडा अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका छन्।
यस्तै, सीता राम भोलनकी १३ वर्षीया छोरी सीमा भोलन आफैँ खोलाबाट बाहिर निस्कन सफल भएकी छिन्। उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौँडा अस्पताल लगिएको प्रहरीले जनाएको छ।
टीकाराम भोलनकी ११ वर्षीया छोरी सुमित्रा भोलन र राजकुमार भोलनकी १२ वर्षीया छोरी बिनिता भोलन अझै बेपत्ता छन्। उनीहरूको खोजी कार्य रातिसम्म पनि जारी रहेको प्रहरीले जनाएको छ। खोजी तथा उद्धारका लागि बागमती प्रदेश विपत् व्यवस्थापन गुल्मबाट प्रहरी निरीक्षक विजयराज तिमिल्सेनाको नेतृत्वमा ११ सदस्यीय टोली, सशस्त्र प्रहरी बल नेपाल नम्बर–१४ गण हेटौँडाबाट सशस्त्र प्रहरी उपरीक्षक नवीनकुमार खड्काको नेतृत्वमा १७ सदस्यीय टोली तथा नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै बेपत्ता बालबालिकाको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी र तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।