नेपालका लागि युरोपेली संघ (इयू)की राजदूत भेरोनिक लोरेन्जोले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गरेकी छिन् । मंगलबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–इयू सम्बन्ध, आपसी हित तथा चासोका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटमा राजदूत लोरेन्जोले परराष्ट्र मन्त्रालयसँगको उत्कृष्ट सम्बन्धका लागि धन्यवाद दिँदै मन्त्रालय सहयोगी, सक्रिय र उत्तरदायी रहेको बताइन् । उनले परराष्ट्रमन्त्री खनालको नेतृत्व र मार्गदर्शनप्रति पनि खुसी व्यक्त गरिन् ।
मन्त्री खनालले राजदूत लोरेन्जोको खुलापन, इमानदारी र सहयोगका लागि धन्यवाद दिँदै नेपाल र परराष्ट्र मन्त्रालयप्रति उनले देखाएको सहयोगको प्रशंसा गरे ।
राजदूत लोरेन्जोले इयू नेपालसँग हिमाल तथा पानीसम्बन्धी एजेन्डामा सहकार्य गर्न इच्छुक रहेको बताइन् । जवाफमा मन्त्री खनालले हिमालसम्बन्धी विषय नेपाल सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै सगरमाथा संवादको दोस्रो संस्करण आगामी वर्ष आयोजना हुने जानकारी दिए ।
भेटमा सुरक्षित, व्यवस्थित र मर्यादित आप्रवासनका विषयमा पनि छलफल भएको थियो । राजदूत लोरेन्जोले यस क्षेत्रमा इयू नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताएकी थिइन् ।
मन्त्री खनालले इयूको प्रस्तावको स्वागत गर्दै थप अध्ययन तथा विचारका लागि विस्तृत जानकारी उपलब्ध गराउन आग्रह गरे । सुरक्षित र मर्यादित आप्रवासन नेपालका लागि प्राथमिकताको विषय रहेको उल्लेख गर्दै उनले विदेशमा रहेका नेपाली डायस्पोराको संरक्षणप्रति सरकार गम्भीर रहेको बताए ।
‘विदेशमा रहेका नेपाली डायस्पोराको संरक्षणप्रति सरकार गम्भीर छ,’ मन्त्री खनालले भने ।
नेपाल अल्पविकसित मुलुक (एलडिसी) बाट स्तरोन्नति हुने प्रक्रियामा देखिएको स्थगनका विषयमा पनि भेटमा छलफल भएको थियो । राजदूत लोरेन्जोले नेपालले ठोस कार्ययोजना र आवश्यक विवरण प्रस्तुत गरेपछि इयूले सहयोग गर्ने बताइन् ।
त्यस अवसरमा नेपाली कला, संस्कृति तथा सभ्यताको प्रवर्द्धन, खुलापन र अभिव्यक्ति स्वतन्त्रताका विषयमा पनि छलफल भएको थियो । राजदूत लोरेन्जोले नेवाः कला प्रदर्शनीसम्बन्धी कार्यक्रमका लागि परराष्ट्र मन्त्रालयको सहयोगका लागि आग्रह गरेकी थिइन् ।
मन्त्री खनालले नेपालको सांस्कृतिक सम्पदाको प्रवर्द्धनका लागि सरकारको निरन्तर सहयोग र प्रतिबद्धता रहने बताए ।
भेटको अन्त्यमा मन्त्री खनालले नेपाल–इयू सम्बन्धलाई थप सुदृढ बनाउन राजदूत लोरेन्जोले गरेको योगदान र प्रयासका लागि धन्यवाद दिँदै उनको आगामी कार्यकाल तथा भविष्यका प्रयासका लागि शुभकामना व्यक्त गरे ।