नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व

मंगलबार, २ भदौ, २०८३
डिजिटल संस्करण

नेपथ्यले सिक्किमको राजधानी गान्तोकमा आगामी कन्सर्टको घोषणा गरेलगत्तै त्यस आयोजनालाई राज्यस्तरबाटै अपनत्व दर्शाइएको छ ।

भारतको ८०औँ गणतन्त्र दिवसका अवसरमा शनिबार गान्तोकमा आयोजित समारोहकै बिच मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले नेपथ्यको टिसर्ट र टिकट सार्वजनिक गरिदिए । उक्त टिसर्ट सिक्किम कन्सर्टकै लागि विशेष रूपमा तयार पारिएको हो । यसअघि नेपथ्यले आफ्नो आधिकारिक वेबसाइटमार्फत आगामी अक्टोबर ३१ तारिख शनिबारका दिन गान्तोक कन्सर्टको घोषणा गरिसकेको छ ।

नेपथ्यले यसअघि पनि सिक्किममा तीनपटक आफूलाई प्रस्तुत गरिसकेको छ । पहिलो कन्सर्ट नेपथ्य ब्यान्डको पुनरागमनलगत्तै बन्द सभागृहभित्र भएको थियो । त्यसपछि दुवै कन्सर्ट भने विशाल मैदानमा फैलिएका दर्शकमाझ आयोजना गरिएका थिए । यसरी आयोजित आउटडोर कन्सर्टमा दोस्राे आयोजनास्थल पाक्योङ थियो भने तेस्राे राबाङला । पाक्योङमा त्यहाँस्थित सेन्ट जेभियर्स स्कुलअगाडिको विशाल मैदानमा कन्सर्ट आयोजना गरिएको थियो भने राबाङलामा चो जो लेकको किनार ।

राजधानी गान्तोकको मुख्य रंगशाला पाल्जोर स्टेडियममै आयोजना भएका हिसाबले यसपटकको चौथो भने सिक्किम यात्रामध्येकै सबैभन्दा भव्य हुने विश्वास आयोजकहरूले लिएका छन् ।

यसपटकको नेपथ्य कन्सर्टलाई सिक्किमका समस्त तन्नेरीहरूको ऊर्जा, उत्साह र सिर्जनशीलतालाई अघि बढाउने, संस्कृतिको संरक्षण र राज्यको सुन्दरतालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ अघि बढाइएको जानकारी आयोजक ‘पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क’ले दिएको छ ।

आफ्नो फेसबुकमार्फत आयोजना टोलीका संयोजक तेन्जिङ दोर्जेले सिक्किमको संगीत, संस्कृति र युवा पुस्तालाई अघि बढाउन यो कन्सर्ट सहयोगी हुने विश्वास व्यक्त गरेका छन् । आफूहरूको प्रयासमा अघि बढेको कार्यक्रमका लागि स्वयं मुख्यमन्त्रीले टिकट र टिसर्ट सार्वजनिक गर्दै अपनत्व प्रकट गरिदिएकामा उनले हार्दिक आभारसमेत व्यक्त गरेका छन् ।  
‘मुख्यमन्त्रीबाट प्राप्त सहयोग र हौसलाका लागि म आभारी छु,’ उनले भनेका छन्, ‘नेपालकै महत्त्वपूर्ण सांगीतिक टोली नेपथ्यलाई सिक्किममा भव्य स्वागत गर्ने क्षणको हामी व्यग्र प्रतीक्षा गर्दै छौँ ।’

नेपथ्यले आफ्नो वेबसाइटमार्फत सन् २०२६ भित्रै सिक्किमको साथै इटहरीमा पनि कन्सर्टको घोषणा गरिसकेको छ भने कीर्तिपुरमा पनि कार्यक्रम गर्ने तयारीमा जुटेको छ । नेपालको पूर्वी सहर इटहरीमा नोभेम्बरको चार तारिख बुधबारका दिन ब्यान्ड स्थानीय रंगशालामा प्रस्तुत हुनेछ । त्यसैगरी दक्षिण कोरियामा पनि ब्यान्डले यो वर्ष भ्रमण गर्ने तय भइसकेको छ । वर्षको अन्त्यतिर भने ब्यान्डले नेपालभर केही सहरहरूको शृंखलाबद्ध यात्रा गर्ने र केही विदेशी मुलुकमा पनि भ्रमण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

‘सिक्किमका रेडियोमा बज्ने नेपथ्यका गीतहरू सुनेर हुर्केका फरक पुस्ताहरूबाट हामीले प्रत्येक यात्रामा न्यानो स्वागत पाउँदै आएका छौँ,’ ब्यान्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘यसपाला कन्सर्टलाई लिएर निकै अगाडिदेखि उत्साहपूर्ण समाचारहरू प्राप्त भइरहँदा हौसला झनै बढेको छ ।’
अमृतका अनुसार नेपथ्य ब्यान्डको स्थापनालगत्तै सबैभन्दा पहिले कन्सर्टका लागि निम्तो दिनेमा सिक्किम–दार्जिलिङ भेगकै दर्शकहरू थिए ।

‘नेपाली गीत संगीत प्रचलित क्षेत्रमध्ये सांगीतिक चेतका हिसाबबाट यताका दर्शक विशेष छन्,’ ब्यान्डलाई प्रवर्द्धन एवं परिचालन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘सन्तुष्टिले भरिएको रमाइलो साँझ प्रस्तुत गर्न सकेसम्म प्रबन्ध मिलाइरहेका छौँ ।’  

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् । कन्सर्टका लागि अनलाइनबाटै टिकट खरिद गर्न सकिने बन्दोबस्त मिलाइएको छ । त्यसका लागि नेपथ्यको वेबसाइट www.nepathya.com.np बाट आफ्नो सिट सुरक्षित बनाउन सकिनेछ ।

सुझावित समाचार